काठमाडौं, जेठ २५
काठमाडौंको बौद्ध नयाँबस्तीमा बोराभित्र मानिसको खुट्टाको भाग भेटिएको छ । आज विहान बोराभित्र खुट्टा र घुँडाको भाग फेला परेको हो ।घटनास्थलको प्रकृति हेर्दा शवलाई कुनै ठाउँबाट जलाएर यहाँ ल्याएर फालेको अवस्था देखिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिहंले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले बोराभित्र हेर्दा खुट्टाको भाग फेला पार्यौ । अहिलेको हकमा कुनै ठाउँबाट जलाएर ल्याएको अवस्था देखिन्छ । शरीरको सिंगो पार्ट देखिँदैन । यहाँ आएर यति जलेको र बाँकी भएको होइन । केही टुक्रा मात्रै ल्याएको देखिन्छ । प्रारिम्भक रुपमा केही पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको छ ।’
उक्त शवको केही भाग मात्र भेटिएकाले शवको पहिचान गर्न नसकिएपनि फरेन्सिक रिपोर्टबाट केही कुरा पत्ता लाग्ने बताइएको छ । घटनास्थलमा पुगेका फरेन्सिक चिकित्सकका अनुसार उक्त शव कम्तीमा ३ हप्ता भन्दा पुरानो देखिन्छ । काठमाडौं प्रहरी प्रमुख सिंहले भन्नुभयो, ‘लगभग तीन हप्ता चार हप्ता बीचको हराएको मान्छेहरुको सूची पनि खोज्छौ । हड्डी र खुटाको परीक्षणबाट के खुल्न सक्छ त्यसले पनि हामीलाई सहयोग गर्छ । अनुसन्धानको क्रममा पछि खुल्न जान्छ ।’ दिव्य पार्टी प्यालेसनजिक खाली जग्गामा बोराभित्र भेटिएको खुट्टा दाहिने रहेको छ ।
कसरी पुग्यो प्रहरी ?
आज विहान पौने सात बजेतिर घटनास्थल जोडिएकी घरकी महिला दुवो टिप्न भन्दै उक्त घटना घटेकै ठाउँमा पुग्नुभयो । खाली ठाउँमा बोरा र खुट्टा जस्तो देखिएपछि उहाँले आत्तिँदै मानिसहरूलाई बोलाउनुभयो । उहाँको आवाज सुनेर नजिकै घर भएका सुन्दर खड्का पनि निस्किनुभयो । उहाँभन्दा अघि त्यहाँ पुगेका केही मानिसले ‘डमी’ र केहीले शव भएको अभिव्यक्ति दिइरहेका थिए। सुन्दरले भन्नुभयो, ‘कसैले शव नै हो भन्नुभयो, कसैले होइन मानिस झुक्याउन डमी फ्यालेको होला भन्नुभयो । ण्त्यसपछि मलाई शव नै हो जस्तो लागेर प्रहरीलाई फोन गरेँ ।
उहाँले १ सय नम्बरमा ६ बजेर ५६ मिनेटमा फोन गर्नुभएको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट डीएसपी नवीन कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्यो । बोराभित्र शव नै भएको पुष्टि भएपछि काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंह, अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङलगायतको टोली घटनास्थलमा पुग्यो । घटनास्थल वरपर कसैले केही ल्याएर फ्यालेको नदेखेको स्थानीयले बताए । नजिकको अतिथि फार्मेसीका सञ्चालकले आफूले त्यो फाल्ने व्यक्ति नदेखेको बताउनुभयो ।
घटनाको अनुसन्धान गर्न केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जबाट खटाइएको थियो। तर, प्रहरीको कुकुरले कुनै सङ्केत गर्न सकेन। गत साउनमा गोङ्गबुमा सुटकेस भित्र भेटिएको शवको अनुसन्धानमा प्रहरीको तालिम प्राप्त कुकुरको अनुसन्धानले प्रहरीलाई क्लु मिलेको थियो । कुकुरले नै घटनास्थलबाट तीन सय मिटर पर पुगेर सङ्केत गरेपछि काटिएको टाउको र खुट्टा फेला परेको थियो। त्यतिखेर प्रहरीले घटनास्थलको अनुसन्धान गर्न क्राइम सिन नजिकै रहेको सीसी क्यामराको फुटेज समेत लगेको थियो। १५ दिन अगाडिदेखि त्यस क्षेत्रमा मानिसको मुमेन्टलाई समेत ध्यानमा राखेर अनुसन्धान गर्न सफल भएको थियो।
यस घटनामा एउटामात्र खुट्टा भेटिएपछि अनुसन्धान केही जटिल बन्ने निश्चित छ। खुट्टा काटिएका व्यक्तिको अन्य अंग कहाँ छ पत्तो छैन। यस्तो केसमा प्रहरीले पछिल्लो समयमा हराएका मानिसको विवरण समेत हेर्ने गर्छ । आज नै बौद्धमा शव भेटिएको खबर सुनेर तीन जना व्यक्ति घटनास्थलसम्म पुगेका थिए। उनीहरूको १२ वर्षीय बालक हराएकाले कतै त्यही होइन भन्ने आशङ्काले आएको प्रहरीले जनाएको छ । अझै पहिचान नखुल्नुले हत्या किन र कसले भन्ने प्रश्न उब्जेको छ ।













प्रतिक्रिया दिनुहोस्