काठमाडौं, जेठ २५
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट (६०–६४) बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको कोभिडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा सो उमेर समूहका सबैले लगाउन आग्रह गर्नूभएको छ । खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । प्रमुख शाक्यसँगै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्याक्षहरुलगायत अनुगमनमा सहभागी रहनुभएको थियो ।
‘महानगरपालिकाले अहिले ३२ वटै वडामा तोकिएको उमेर समूहका नागरिकले आफूलाई पायक पर्ने ठाउँमा खोप लिन पाउने व्यवस्था गरेको छ,’ शाक्यले भन्नुभयो, ‘खोप लगाउन त्यही वडाको नागरिक हुनुपर्छ भन्ने छैन । उमेर समूह मिलेपछि महानगरपालिकाले व्यवस्थापन गरेका ३२ वटा मध्ये जुनसुकै केन्द्रबाट खोप पनि लगाउन सकिन्छ ।’ उहाँले साथमा उमेर समूह खुल्ने परिचयपत्र बोक्न र पायक पर्ने ठाउँमा खोप लगाउन पनि आग्रह गर्नुभयो ।
‘उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोल–टोलमा माइकिङ गर्ने व्यवस्था गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले घर–घरमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह समेत गरेका छौँ । त्यसकारण कोही छुट्ने छैनन् भन्ने हामीले अनुमान गरेका छौँ ।’ उहाँले यो चरणमा मात्रै एक लाख सहभागी हुने लक्ष्य लिएको जानकारी दिनुभयो ।
शाक्यले आज वडा–१३ को जनप्रभात मावि कालिमाटी, वडा–२१ को यंगाल सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, वडा–२३ को ओम वहाल र वडा–२५ कन्या मन्दिर माध्यामिक विद्यालयमा राखिएका खोप केन्द्रको अनुगमन गर्नुभएको थियो । ‘आज मात्रै मैले चार ओटा वडाका केन्द्रको अनुगमन गरेँ । सहज रुपमा खोप कार्यक्रम सञ्चालन भैरहेको छ,’ उहाँले थप्नुभयो, ‘विगतका दिनमा विभिन्न अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, भिडभाडबाट संक्रमण फैलिने डर हुनेलगायतका गुनासो आएपछि त्यसलाई सम्वोधन गर्दै महानगरपालिकाले ३२ वटै वडामा केन्द्र बनाएर खोप अभियानलाई व्यवस्थापन गरेको छ ।’
वडाध्यक्ष, सदस्य, स्वयमसेवक, सामाजिक संस्थाका प्रतिनिधिहरुको निरन्तरको खटाइले थप सहज भएको पनि शाक्यले जानकारी दिनुभयो । ‘३२ वटै वडा र अझ त्यसमा पनि उमेर समूह छुट्याएर खोप अभियान सञ्चालन गरेपछि धेरै सहज भएको प्रतिक्रिया प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा यसलाई थप सहज बनाउँछौँ । अनुगमनका क्रममा सकेसम्म छिट्टै सबैलाई खोपको व्यवस्था मिलाउन सुझाव दिनुभएको छ । उहाँहरुको सुझावलाई आत्मसाथ गर्दै नेपाल सरकारसँग थप समन्वय गरेर अघि बढ्छौँ र सकेसम्म छिट्टै सबै महानगरवासीलाई खोपको व्यवस्था गर्छौ ।’













प्रतिक्रिया दिनुहोस्