जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार ०८:५२

स्कुलको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा ४ बालबालिकाको मृत्यु


काठमाडौं, २९ जेठ । दार्चुलाको नौगाढ गाउँपालिकाण् ४ मा रहेको गणेशविनायक मावि स्कुलमा शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भाँसिदा ४ बालबालिकाको मृत्यु भएको छ । सोमवार दिउँसो करिब साढे ४ बजेतिर सेफ्टी ट्यांकीको ढक्कनमाथि खेल्दै गरेका सोही गाउँपालिकाको १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाएको थियो । सोही मैदानमा खेल्दै गरेका ती बालबालिकाको ढक्कन भाँसिदा सेफ्टी ट्यांकीमा परी मृत्यु भएको स्थानीयबासी प्रतापसिंह ठगुन्नाले जानकारी दिनुयो । ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर तल खसेको थियो । ट्याङ्कीमा खसेर मृत्यु भएको बालबालिकाको उद्धार गर्न तीन घण्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले बताउनुभयो । ‘माटोसहित बालबालिका ट्याङ्कीमा परेको र वर्षा भएकाले बेलुका मात्रै ट्याङ्कीबाट लाश निकालेर सनाखत गरिएको प्रहरीले जानकारी दियो ।