काठमाडौं, जेठ २८
अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गर्नुभएको हो ।

नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत पोष्ट गर्नुभएको थियो । प्रारम्भिक जाँचको क्रममा निशाको नशामा समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकले उहाँको अवस्था सुधार हुने अपेक्षा गर्नुभएको छ ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गर्नुभएको निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसक्नुभएको थियो ।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो ।

दुर्घटनापछि बोल्न र हिँड्न छाड्नुभएको उहाँको उपचारको अभावका कारण दिन प्रतिदिन स्वास्थ्य अवस्था झन झन बिग्रँदै गएको थियो । अहिले उहाँ शारीरिक अशक्तताका कारण शरीरमा हाड र छालाबाहेक केही देखिँदैन । परिवारको आर्थिक स्थिति कमजोर भएका कारण निशाको उपचारमा ढिलाइ हुन पुगेको पारिवारिक स्रोतले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्