जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १७:३८

रामेछापका जनप्रतिनिधिको एकै स्वर : जनता बचाएपछि मात्रै विकास निर्माण


काठमाडौं, जेठ २९

रामेछापमा जनप्रतिनिधिले जनतालाई बचाउनु अहिलेको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । रामेछाप–काठमाडौं पत्रकार समाजले हिजो गरेको भर्चुअल अन्तरक्रियामा कोभिड–१९ विरुद्धको खोप सबै जनतालाई सुनिश्चित हुने गरी कार्ययोजना आउनुपर्ने भन्दै यस्तो बताउनुभएको हो । उहाँहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि खोपको प्रभावकारीता देखिएकोले पहिलो प्राथमिकता खोप भएको पनि उल्लेख गर्नुभयो ।

उहाँहरुले विकास निर्माणको काम पछि गर्ने भन्दै अहिलेको पहिलो प्राथमिकता जनतालाई बचाउनुभएको प्रष्ट पार्नुभयो ।
स्थानीय सरकारले कोभिड नियन्त्रणका लागि पहिलो भेरियन्ट आएदेखि नै आइसोलेसन तयार गरेपनि बेडअनुसार अक्सिजन, औषधि, स्वास्थ्यकर्मीलगायतका सुविधाका लागि प्रदेश र केन्द्र सरकारकै भर पर्नुपर्दा समस्या भएको गुनासो छ। कम बजेट हुँदा रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले गरेको तयारीले मात्रै नपुग्ने उहाँहरुको भनाई छ।

कार्यक्रममा खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले सबैले कोरोना भाइरसबाट बच्न अनिवार्य खोप लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकाबाट आफूले खोपका लागि संघीय सरकार र प्रदेश सरकारसँग पहल गरिरहेको पनि जानकारी दिनुभयो । ‘स्वास्थ्य मन्त्रालय, संघीय सरकार, प्रदेश सरकारलाई पनि पत्र पठाएका छु । भौतिक निर्माण पछि गरौंला, हामी अहिले विकासभन्दा पनि जनता बचाउनुपर्छ भन्ने उद्देश्यले अघि बढिरहेका छौँ।’

खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ

तामाङले भन्नुभयो, ‘पहिले मानिस बचाउनुपर्ने भएकाले बरु पालिकामा बजेट पठाउनुपर्दैन खोप पठाए हुन्छ। कि पालिकालाई नै खोप खरिदका लागि अनुमति दिनुपर्छ खाडाँदेवी गाउँपालिका आफैँले केन्द्र र प्रदेशबाट आएको बजेटबाट खोप खरिद गरेर जनतालाई खोप लगाउछौँ ।’ उहाँले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्नेगरी काम गर्नुको विकल्प नभएकाले सबैले यहि भर्सन लिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै पहिलो चरणमा ५५ वर्ष माथिका उमेर समूहमा खोप लगाउन खोज्दा केही मानिस खोप लगाउन डराएकाले खोप फिर्ता गर्नुपरेको गुनासो समेत व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो,‘तर अहिले खोप लगाउन धेरै इच्छुक हुनुहुन्छ तर खोप पर्याप्त मात्रा आएको छैन।’भेरोसेलको पहिलो डोज लगाएको १ महिनाभित्रै दोस्रो लगाउनुपर्ने भएकाले खोपको संख्यामा हुँदा थप समस्या भएको जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाका युवा, समाजसेवी र प्रहरीसहितको टीमले पालिकाभित्रका ९ वटै वडामा परिचालन गरी कोरोना महामारीमा बच्न सचेतना फैलाउने काम गरेको बताउनुभयो । उहाँले सुरुवाती चरणमा कोरोना फैलिएपनि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी र स्थानीयको सहयोगले महामारी नियन्त्रण गर्नमा सहयोग पुगेको जानकारी दिनुभयो । त्यस्तै उहाँले १८ करोड लगानीमा १५ शैय्याको पालिकास्तरिय अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै हाल ६३ जना स्वास्थ्यकर्मी रहेकोले उनीहरुलाई केहि प्रतिशत छुट्याएर भत्ताको व्यवस्था गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले देशबाहिर र काठमाडौं उपत्यकालगायतका शहरबाट आएकालाई क्वारेन्टाइनमा राखेकाले संक्रमण फैलन नपाएको बताउनुभयो । उहाँले देवाली,पुजा र बिहेलगायतका कामले संक्रमण फैलिए पनि जनप्रतिनिधि, स्वास्थ्यकर्मी निरन्तर खटेर संक्रमणको जोखिम कम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो कारणले गाउँपालिकामा संक्रमण बढेको छैन। २४ घण्टा नै फ्रन्टलाइनर नियन्त्रणमा खटेका छन्। विभिन्न संघसंस्थासँग सहयोगको आह्वान गरिरहेको र कतिपयले सहयोग गरिरहनुभएको छ। गाउँपालिका आफैँले एन्टिजेन्ट किट खरिद गरेर जनातालाई निशुल्क उपचार गरिरहेका छौं।’

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार

अवस्था सामान्य रहेका संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा, लक्षण देखिएका बिरामीलाई गाउँपालिकाको आइसोलेसनमा र जटिल समस्या देखिएका बिरामीलाई रेफर गरेर अन्य अस्पतालमा पठाउने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सिमानाकामा हेल्थ डेक्सको स्थापना, जनचेतनामूलक कार्यक्रम लगायतका कार्यहरू सञ्चालन गरि कोरोना नियन्त्रण तथा रोकथाममा अग्रसर भएको उहाँको भनाई छ। सुनुवारले स्वास्थ्यमर्मीलाई स्थानीय जोखिम भत्ता उपलब्ध गराउने निर्णयसमेत गरिसकेको जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा आगामी वर्षको बजेट स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिने भन्दै रोजगार अवस्था कमजोर भएकाले यसलाई समेत लक्षित गरेर दायरा फराकिलो बनाउने बताउनुभयो । उहाँले गोकुलगंगा गाउँपालिकाले स्थानीय पाठ्यक्रम जारी गरिसकेकाले सोही अनुसार कृषि उत्पादन र पालिकाको विकास गर्न लाग्ने सुनाउनुभयो । त्यस्तै उहाँले गाउँपालिकामा इन्टरनेटको पहुँच नभएकाले भर्चुअलमार्फतका कक्षा सञ्चालन प्रभावकारी नभएको दुखेसो पोख्दै विद्यालयमै भौतिक दुरी कायम गरेर पठनपाठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कोरोनाविरुद्ध लड्न केन्द्र सरकारको असहयोग भयो

सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विपद्कोषमा ६० लाख रुपैयाँ जगेडा राखिएको बताउनुभयो । उहाँले संघले १० लाख दिनेभनेपनि हालसम्म नपाएको र प्रदेश सरकारले भर्खरै ५ लाख रुपैयाँ उपलब्ध गराएको गुनासो गर्नुभयो । कोरोना संक्रमितको लागि दुई स्थानमा ३२ वटा आइसोलेसन वेड चलाइरहेको भन्दै उहाँले टोल–टोलमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालित गरी संक्रमण फैलन नदिएको बताउनुभयो ।

सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा

यसअघि फ्रन्टलाइनरलाई भत्ता दिएका भन्दै अब पालिकास्तरीय निर्णय गरे ५० प्रतिशत बढाएर जोखिम भत्ता उपलब्ध गराइने बताउनुभयो । त्यस्तै उहाँले गाउँपालिकामा ५ वटा वडामा ५ वटै एम्बुलेन्सले बिरामीको ओसारपसार गरिरहेको सुनाउनुभयो । दीर्घ रोगीलाई औषधी आवश्यक हुँदा नाम र बील पठाएको खण्डमा घर–घरमै औषधी पुर्याउने व्यवस्था गरिएको लामाको भनाई छ।

नागरिकको जीवन बचाउनु अहिलेको प्राथमिकता भएकाले विकास निर्माणलाई छाडेर आफूहरुको ध्यान कोभिड नियन्त्रणमा केन्द्रित भएको बताउनुभयो । उहाँले आगामी बजेटमा कोरोना संक्रमण नियन्त्रणलाई विशेष प्राथमिकतामा राख्ने बताउनुभयो । नागरिकको सहयोग र परीक्षणको मात्रा बढ्यो भने महामारी नियन्त्रण छिट्टै गर्न सकिने उहाँले सुनाउनुभयो । रामेछाप–काठमाडौं पत्रकार समाजले गरेको भर्चुअल कार्यक्रममा रामेछाप जिल्ला र काठमाडौं कार्यक्षेत्र बनाएर काम गर्नुभएको पत्रकार र नागरिकहरुको सहभागिता रहेको थियो।