जनता टाइम्स

३० जेष्ठ २०७८, आईतवार १५:२१

लुम्बिनी प्रदेशको नीति कार्यक्रम पारित, मुख्यमन्त्री अल्पमतमा परेको कांग्रेस–माओवादी दावी खारेज


रुपन्देही, जेठ ३० । लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । आजको प्रदेशसभा बैठकले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रम पारित भएसँगै मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको भन्ने कांग्रेस र माओवादीको दावी झुटो सावित भएको छ भने सरकारलाई राहत मिलेको छ । योसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ । प्रदेश सरकारमा सहभागी सत्तारुढ एमालेका ३८ र जसपाका ४ सांसदले समर्थन गरेपछि सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो ।

प्रदेशसभामा विपक्षी दलमा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ विपक्षी कम्फर्टेवल गठबन्धनमा छन ।
विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने अफवाह फैलाइरहेको बेला बहुमतले नीति कार्यक्रम पारित भई सरकारको पक्षमा स्पष्ट बहुमत पुगेको हो ।

यसअघि मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी दलले सरकारको वैधानिकताका विषयमा उठाएका प्रश्नको जवाफ दिँदै प्रदेशसभामा सरकारलाई कानुनी रुपमा वैधताको कुनै अड्चन नभएको प्रष्ट पार्नुभएको थियो । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।