काभ्रे, जेठ ३१
जिल्लाको धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रको विद्यार्थीहरुलाई निःशुल्क उच्च शिक्षा प्रदान गर्ने योजना कार्यान्वयन गरेको छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठका अनुसार नगरपालिकाले शिक्षामा समाजवाद उन्मुख कार्यक्रम सुरूवात गरी कार्यान्वयन गरेको हो । यसअघि नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि निःशुल्क उच्च शिक्षा कार्यक्रमको सुरुवात गरेको थियो ।
उच्च शिक्षा निःशुल्क प्रदान गर्ने योजना अनुसार आज नगरपालिकाले नगर क्षेत्रमा रहेको धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पससँग सम्झौता गरिएको नगरप्रमुख ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो । धुलिखेल नगरपालिकाको दुई वटा क्याम्पसमा स्नातक तह पढ्ने नगरपालिकाभित्रका कुनै पनि बिद्यार्थीले शुल्क तिर्नुपर्ने छैन । नगरप्रमुख ब्याञ्जुले भन्नुभयो, ‘धुलिखेल नगरपालिकाको ‘उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत दुईवटा क्याम्पससँग सम्झौता गरिएको छ, नगरपालिका भित्रको यस क्याम्पसमा पढ्ने यहाँका स्थायी बसोबास गर्ने जो कोहिले पनि शुल्क तिर्नुपर्दैन ।’

त्यस्तै ‘उच्च शिक्षा छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकाभन्दा बाहिरबाट आएर नगर क्षेत्रमा रहेको धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पसमा पढ्ने विद्यार्थीले भने ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । पालिकाले “नि:शुल्क उच्च शिक्षा पढ्न धुलिखेल जाउ” भन्ने नारासहित यस कार्यक्रमको सुरुवात गरेका छौँ,’ नगरप्रमुख अशोक ब्याञ्जुले थप्नुभयो,‘नगरबासीलाई सतप्रतिशत निःशुल्क र बाहिरबाट आएर पढ्ने विद्यार्थीले कुल पढाई खर्चको ५० प्रतिशत मात्रै तिर्नुपर्ने ब्यवस्था मिलाएका छौं ।’
नेपाल नगरपालिका संघको अध्यक्ष समेत रहनुभएको नगरप्रमुख अशोक ब्याञ्जुले ‘उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पसमा उच्च शिक्षा (स्नातक) अध्ययन गर्ने बिद्यार्थीका लागि ८/८ लाख छात्रवृत्ति रकम आज हस्तान्तरण गर्नुभएको छ । उक्त रकम यहि बर्ष भर्ना भएका विद्यार्थीले पनि पाउने भएका छन् ।













प्रतिक्रिया दिनुहोस्