जनता टाइम्स

२ असार २०७८, बुधबार १४:०९

अनेम संघद्धारा स्वास्थ्यमन्त्री तामाङको ध्यानाकर्षण


काठमाडौं, असार २

अखिल नेपाल महिला– (अनेम) संघले कोरोना महामारीबाट बच्न÷बचाउन सम्पूर्ण नागरिकहरुको कोरोना विरूद्धको खोपको सुनिश्चितताका साथै विविध व्यवस्थापनको माग गर्दै सरकारलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । संघले महामारीको अवस्थामा उपचारलगायत विभिन्न काममा खटिरहेका स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, सफाईकर्मी, सवारी चालकलगायतका श्रमिकहरुको स्वास्थ्य, सेवा सुविधा र सामाजिक सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा सम्पूर्ण नागरिकहरुले कोरोना विरूद्धको खोपको सुनिश्चित गर्न,कोरोनाका कारण आमाबाबु गुमाएका असहाय बालबालिका तथा सन्तान गुमाएर सहयोग आवश्यक पर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार राज्यले हेरबिचार गर्ने वातावरणको सुनिश्चितता गर्न माग गरिएको छ ।

त्यस्तै कार्यस्थलमा सम्पूर्ण स्वास्थ्यकर्मिहरुको सुरक्षाको प्रत्याभुती सहित काम गर्ने स्वच्छ र मर्यादित वातावरणको सुनिश्चतता गर्न, स्वास्थ्यकर्मीहरुका लागि आधारभुत आवाशिय सुविधा सहितको क्वारेन्टाइन र आइसोलेशन सेन्टरको व्यवस्था गर्न, निषेधाज्ञाका कारणले रोजगारी गुम्दा दैनिक छाक टार्न नसकेका व्यक्तिहरुलाई राज्यबाट विषेश संरक्षण र सुरक्षाको व्यवस्थाका लागि माग गरिएको अनेम सङ्घका सञ्चार विमाग प्रमुख शर्मिला कार्कीले बताउनुभयो ।

कोरोना महामारीको तेस्रो लहर आउने सम्भावनालाई ध्यानमा राख्दै बालबालिकालाई जोगाउन र उनीहरुको स्वास्थ्य सुरक्षाका लागि उच्च शतर्कता अपनाउन पनि सुझाव दिइएको छ । साथै महामारीको कारण भएको निषेधाज्ञाको अवस्थामा महिला तथा बालबालिका विरुद्ध हुने हिंसाबाट उत्पन्न समस्या समाधानका लागि आवश्यक कदम चाल्न पनि ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षणपत्र स्वास्थ्यमन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतलाई बुझाएको हो ।