काठमाडौं, असार २
इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनारले समाजको विभेद खेप्नुपरेको छ । तनहुँमा जन्मिनुभएको २४ वर्षीया सुनार काठमाडौंको बबरमहलमा भाडामा परिवार, आमासँग बस्नुहुन्छ । पछिल्लो समय कोठा सर्न चाहेपछि आफ्नै साथीले आफ्नो घरवेटीकहाँ कोठा खाली रहेको जानकारी दिएपछि रुपाले उक्त कोठा हेर्ने जमर्को गर्नुभयो ।
हिजो दिउँसो मात्रै उक्त एक साथीले बबरमहलमै कोठा भनेपछि तीन जना भएर कोठा हेर्न जानुभयो । उक्त घरबेटी भने प्रधान थरको हुनुहुन्छ । कोठा हेरिसकेपछि सबै मन परेको भन्दै रुपाले घरबेटीलाई फिक्स गर्नुभयो । घरबेटीसँग भाडाको कुरा भयो, कुरा मिल्यो र सबै फिक्स नै भयो, घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नुपर्ने, सफा गर्नुपर्ने, मान्छे ल्याउन नपाइने र हल्ला गर्न नपाईने सर्त राख्नुभयो ।
रुपाले सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै भन्नुभएको छ, ‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न । आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई। एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ। बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन। सबै जना मिलेर बस्नुपर्छ ।’
रूपाले आमालाई पनि एकपल्ट कोठा देखाउन ल्याउने भनेपछि घरबेटीले थरको कुरा उठाउँछन् अनि रुपाले भन्नुहुन्छ म कामीको छोरी हुँ । उहाँको कुरा सुन्न नपाउँदै घरबेटी ट्वाल्ल परेर नबोली बस्नुहुन्छ अनि अकमकिएर ‘तपाईंको नम्बर दिनू न, म तपाईंलाई पछि खबर गर्छु,’ भन्नुहुन्छ । घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको उहाँले भिडियोमार्फत शेयर गर्नुभएको छ । त्यसलगत्तै रुपा साथीसँगै कोठामा फर्किनुहुन्छ अनि केही समयपछि नै घरबेटीले उक्त साथीलाई फोन गरेर रुपालाई कोठा नदिने कुरा सुनाउनुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्