जनता टाइम्स

२ असार २०७८, बुधबार २२:००

ज्ञानेन्द्र शाहीको हर्कत प्रति पत्रकार महासंघले गम्भिर आपत्ति प्रकट गर्दै निकाल्यो विज्ञप्ती


काठमाडौं, असार २ । समाचार प्रसारण भएको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अर्न्तर्गत समाचार सामग्री प्रसारण भएपछि निज शाहीले असार १ गते पत्रकार श्रेष्ठलाई फोन गरी आफू र कार्यक्रमका प्रस्तोता बस्नेतलाई पनि अपशब्द प्रयोग गर्दै धम्क्याएको पीडित पत्रकारले महासंघमा जानकारी गराएको महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।