काठमाडौं, असार ३
कालीमाटीमा रहेको ज्योति अस्पतालले ‘इलिगल’ काम गरेको तथ्य खुलेको छ । अस्पतालले लिंग पहिचान गरी गर्भपतन गर्दा एक महिलाको ज्यान गएपछि अस्पतालको अवैध धन्दाको पोल खुलेको हो । नेपालमा भ्रूणको लिंग पहिचान गर्न कानूनले बर्जित गरेको छ । रामेछाप स्थायी घर भई काठमाडौंमा बस्ने २८ वर्षीया अनिता घिमिरेको सोमबार मृत्यु भएपछि अस्पतालले इलिगल काम गरेको पुष्टि भएको हो ।
गर्भपतन गराउन पुगेकी महिलाको सोमबार राति मृत्यु भएको छ । अस्पतालको चरम लापरवाहीका कारण महिलाको ज्यान गएको पीडित परिवारको दाबी छ । उनीहरुले न्याय माग्दै हिजो अस्पतालमा धर्ना दिएका थिए । ३ छोरीकी आमा बनिसक्नुभएको घिमिरेको पेटमा १५ हप्ताको गर्भ रहेको र उक्त गर्भमा छोरी नै रहेमा नजन्माउने मनसायमा रहेको बुझिएको छ । केही दिन अघि मात्रै अस्पतालमा अल्ट्रासाउण्ड गरेर गर्भमा रहेको बच्चा छोरा कि छोरी छुट्याइएको बताइएको छ ।
तर गर्भमा के थियो भन्ने कुरा बाहिर आएको छैन, यद्यपि गर्भपतन गराउने भन्दै डाक्टरसँग सल्लाह गएर गर्भपतन गरिएको बुझिएको छ । मृतकका श्रीमान् नकुल घिमिरेका अनुसार अनिताले गर्भमा छोरी भएमा गर्भपतन गराउन चाहेकी थिइन् ।
अस्पतालको लापरवाहीको कारण घिमिरेको मृत्यु भएको आफन्तले बताएका छन् । अनितालाई क्युरेट हुने दुई वटा औषधी दिएर अस्पतालले रगतको ग्रुप नछुट्याई, रगत जोहो नगरी गर्भपतन गराएको बुझिएको छ । अनिताको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।
अस्पतालको गल्ति नै गल्ति
गर्भपतन गराउने औषधि दिनुअघि सुरुमा बिरामीका आफन्तलाई सम्झौता गरेर मात्रै यस्तो काम गर्नुपर्छ । जबकि गर्भपतन गराउने समयमा बिरामी वा आफन्तको मञ्जुरीनामा र हस्ताक्षर नभई गर्भपतनको औधषि दिनुहुँदैन । हुन त पहिलो गल्ति भनेकै लिंग पहिचान गरेर गर्भपतन गराउने सल्लाह दिनु हो । अर्को गल्ति भनेको विशेषज्ञ डाक्टर विना नै गर्भपतन गराइएको पाइयो । त्यस्तै अस्पतालले यदि गर्भपतन गराउने नै हो भने पूर्वतयारीस्वरुप रगतको व्यवस्था गर्नुपर्छ ।
रगतको व्यवस्था गर्न, त्योभन्दा पहिले नै रगत समूहको पहिचान गर्नुपर्छ । गर्भपतन गराउन पनि तालिमप्राप्त जनशक्ति चाहिन्छ । त्यस्तै अर्को गल्ति हेल्थ असिस्टेन्टलाई चिकित्सक भन्दै झुट बोलेर उपचार गरिएको पाइएको छ । हेल्थ असिस्टेण्टले गर्भपतन गराउन नपाउने र स्टाफ नर्स भए पनि तालिम लिएकै व्यक्तिले मात्र गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । ज्योति अस्पतालमा विरामीको अवस्था अत्यन्तै नाजुक भएपछि अस्पतालका सञ्चालक सत्यन्द्रकाजी श्रेष्ठले आफ्नै कारमा बीएण्डबी अस्पताल पुर्याइएको थियो ।
अस्पतालले मृतक घिमिरेको आफन्तलाई ‘अस्पतालमा क्युरेट गरेको नभन्नू र पुलिस केस पनि नगर्नु, यो इल्लिगल काम हो, समस्या पर्छ’ भनेको बताइएको छ । रक्तश्राव नै नरोकिएपछि अनिताको बीएण्डबी अस्पतालमै सोमबार बिहान ३ बजे मृत्यु भयो । ज्योती अस्पतालमा बिरामीका आफन्तले हिजो चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताललाई कारवाही र क्षतिपूर्तिको माग गर्दै घेराउमा गरेका थिए । बीएण्डबी अस्पतालका प्रशासन प्रमुख प्रकाश भट्टराईका अनुसार गर्भपतन गराइ कम्प्लिकेसन आएपछि मात्रै बीएण्डवीमा ल्याइएको हुँदा बचाउन नसकिएको हो ।
पन्छिँदै ज्योति अस्पताल
अस्पतालले आफूहरुले मृतकको क्युरेट नगराएको बताएको छ । बिरामीले पिसाब पोलेको बताएपछि आफूहरुले मेट्रो (मेट्रोनिडाजोल) र सिप्रो (सिप्रोफ्लोक्सासिन) औषधि दिएपछि ट्वाइलेटमा अनिताको ‘मिसक्यारेज’ भएको सञ्चालक श्रेष्ठको दाबी छ ।
१२ हप्तापछिको गर्भपतन गराउन पाइदैन
नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई मात्रै कानूनले तोकेको मापदण्डअनुसार पतन गराउने अधिकार दिएको छ । जबरजस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसेमा १८ हप्तासम्मको गर्भ पतन गराउन पाउने कानुनी व्यवस्था छ । तर, बच्चा वा आमाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएमा, आमाको मानसिक स्वास्थ्यमा समस्या आएमा भने चिकित्सकको सल्लाह र प्रत्यक्ष निगरानीमा जुनसुकै अवस्थाको गर्भ पतन गर्न सकिने कानुनी अधिकार छ ।
मृतक श्रीमानसँगै बस्दै आएकी अनिताको गर्भमा १५ हप्ताको गर्भ थियो । १२ हप्ताभन्दा माथिको गर्भ पतन गराउन स्वास्थ्य संस्थामा जाँदा अनिवार्यरूपमा आफन्त लिएर जानुपर्ने कानुनी व्यवस्था छ, त्यो पनि कानुनले तोकेको मापदण्डमा गर्भपतन गराउन पाइने अवस्थामा । विशेषज्ञ चिकित्सकका अनुसार ६३ दिनपछिको गर्भपतन औषधि खुवाएर गर्नु राम्रो हुँदैन ।
प्रसुती रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमका अनुसार ९ हप्ता अर्थात् ६३ दिनपछिको गर्भपतन औषधि सेवनबाट गराउन हुँदैन । ९ सातासम्मको गर्भ हो भने तालिमप्राप्त स्वास्थ्यकर्मीले औषधि दिएर पनि पतन गराउन सक्छन् । यदि अस्पतालमै भर्ना भएर गर्भपतन गराउने हो भने आमाको स्वास्थ्य हेरेर चिकित्सकको प्रत्यक्ष निगरानीमा १२ हप्तासम्मको गर्भपतन पनि औषधि दिएर गराउन सकिन्छ ।
तर, त्यो बेला पहिले नै स्लाइन पानी ठिक्क पारेर राख्नुपर्छ भने अन्य औषधि दिन भेन ओपन गरेको हुनुपर्छ । १२ हप्ताभन्दा पनि माथिको अवस्थामा गर्भपतन गराउँदा सर्जिकल क्याक अर्थात् स्वास्थ्य उपकरणबाट नै गराउनुपर्ने हुन्छ । त्यतिबेला बिरामीको अवस्था हेरेर स्लाइन पानी, रगत र अन्य आवश्यक औषधिको जोहो गरेको हुनुपर्छ ।
उहाँका अनुसार नेपालमा गर्भपतन गराउनका लागि कम्तीमा एमबिबिएस पढेका डाक्टर र कम्तिमा प्रवीणता प्रमाणपत्र तह पढेका नर्सलाई मात्रै तालिम दिइएको छ । यदि १२ हप्ताभन्दा माथिको गर्भपतन गराउँदा पनि भ्याकुम लगायतका मेडिकल उपकरण प्रयोग गरिएन र औषधि खुवाइयो भने पाठेघर फुट्ने सम्भावना रहन्छ । जसका कारण अत्याधिक रक्तश्राव हुन्छ र समयमै अप्रेसन गरेर पाठेघर बन्द गरिएन भने बिरामीको मृत्यु हुनसक्छ ।













प्रतिक्रिया दिनुहोस्