जनता टाइम्स

३ असार २०७८, बिहीबार १८:३५

मेलम्चीको चोटमा मलम लगाउँदै काठमाडौं महानगरपालिका, बाढी प्रभावितलाई २ करोड सहयोग


काठमाडौं, ३ असार

काठमाडौं महानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको पहलमा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि दिइने मेयर विद्यासुन्दर शाक्यले बताउनुभएको छ ।

मेलम्चीले काठमाडौंलाई खानेपानी दिएकाले विपद् परेका बेलामा मेलम्चीलाई पनि सहयोग गर्नु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो । यस्तै काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले पनि बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट मेलम्ची र हेलम्बुको विपद् राहत कोषमा १०/१० लाख रुपैयाँका दरले सहयोग गर्ने नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिनुभयो ।

यसैबीच काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि मेलम्ची नगरपालिकालाई तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ सहयोग गर्ने मेयर टीपी तिमिल्सिनाले बताउनुभएको छ । सहयोग रकम र खाद्यान्नसहित राहत आज मेलम्ची पुगेर हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।