जनता टाइम्स

३ असार २०७८, बिहीबार १९:१९

झलनाथ खनालको स्वास्थ्यमा सुधार


काठमाडौं, असार ३ । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार शुरुभएपछि स्वास्थ्य अवस्थामा सुधार भएको छ । पूर्वप्रधानमन्त्री खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ ।

नेता खनाललाई बुधबार साँझ अस्पताल भर्ना गरिए पनि उहाँको नियमित उपचार आजबाट शुरु गरिएको उहाँको सचिवालयले जनाएको छ । सचिवालय सदस्य चन्द्र लामाकाअनुसार रगतमा देखिएको हेमोग्लोविनको कमी हटाउनेबारेमा चिकित्सकले उपचार शुरु गर्नुभएको छ ।

लामो समयसम्म ज्वरो आउने र नियमित खोकी लाग्ने समस्या देखिएपछि नेता खनाललाई जेठ ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यहाँ रहँदासम्म स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि परिवारका सदस्यको आग्रह र चिकित्सकको सल्लाहअनुसार उहाँलाई थप उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली लगिएको थियो ।

एक महिनाअघि नेता खनाललाई कोभिड पोजेटिभ भएको र कोभिड ठीक भएपनि अन्य समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अपोलो अस्पतालमा नेता खनालसँगै जानुभएका चिकित्सक डा. सुदिप अमात्यले सचिवालयका सदस्यहरुलाई दिनुभएको जानकारीअनुसार नेता खनालको स्वास्थ्यमा सुधार भएको छ ।