काठमाडौं, असार ५ । राष्ट्रपति विद्यादेवी भण्डारीलेले मनसुनको शुरुवातसँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे गृह मन्त्रालय‚ राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिनुभएको छ ।
गृहमन्त्री खगराज अधिकारी‚ गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपति भण्डारी समक्ष मनसुनजन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति‚ प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्वारा सञ्चालन गरिएका राहत एवं पुनर्स्थापनाका कामहरूको बारेमा जानकारी गराउनु भएको थियो । राष्ट्रपति समक्ष प्राकृतिक विपद् न्यूनीकरणसम्बन्धी विविध पक्षहरू जानकारी गराइएको उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा प्रहरी महानिरीक्षक शैलेश थापाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितहरूको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीहरूको सराहना गर्नुहुँदै विपद्को समयमा गरिने खोजी तथा उद्धार‚ विपद्पश्चात् गरिने राहत‚ पुनर्स्थापना र पुनर्निर्माणका कामहरूको साथसाथै विपद्जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा समेत सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताउनु भयो ।
साथै राष्ट्रपतिले विकासका लागि भौतिक संरचनाहरू निर्माण गर्दा भूकम्प‚ बाढी‚ पहिरो‚ चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमहरूलाई समेत ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । यस सन्दर्भमा गृह मन्त्रालयले सम्बन्धित अन्य मन्त्रालय र निकायहरूसँग समेत समन्वय गरी कार्य गर्न उहाँले सुझाव दिनुभयो । विपदको समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाईमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि राष्ट्रपतिले उल्लेख गर्नुभयो ।
प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयद्वारा विपद्बीमा लागू गर्ने निर्णय लिइएको, नेपाली सेनाको नेतृत्वमा द्रूत हवाई उद्धार भैरहेको, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका निकायको समन्वयमा राहत रउद्धारका कार्यहरू सबै प्रदेशमा सञ्चालन गरिएको जानकारी उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई गराइएको थियो ।













प्रतिक्रिया दिनुहोस्