काठमाडौं, असार ५
मुस्ताङमा खोलामा बाढी आएपछि कोरोना विरुद्धको खोप जनतामाझ पुर्याउन स्वास्थ्यकर्मीहरुले गरेको जुक्तिको चौतर्फी प्रशंसा भइरहँदा विश्व स्वास्थ्य संगठनमा पनि प्रशंसा गरिएको छ । यसअघि मुस्ताङ लेतेको छाप्ताङ खोलामा भेल आएपछि स्वास्थ्यकर्मीहरुले पाइपको सहायतामा वारपार बसेर खोप खोला पार गराउनुभएको थियो । त्यो क्षणको भिडियो सामाजिक सञ्जालमा समेत भइरल भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. अधानोम टेड्रोसले उक्त भिडियोलाई ट्वीट गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिनुभएको हो । उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘स्वास्थ्यकर्मीहरुले अरुको जीवन बचाउन कसरी लागिपर्छन् भन्ने उदाहरण हो यो । कतिपय देशमा यस्ता हिरोहरुलाई अझै खोप दिइएको छैन । ’
अहिले नेपालमा पनि कोरोना खोप अभियान चलिरहेको छ । मुस्ताङमा असार १ गते खोलाका कारण वारपार गर्न नसक्ने स्थिति रहेकाले स्वास्थ्यकर्मीहरुले वारी र पारी बसेर खोप पास गर्नुभएको थियो । यस भिडियोमा देखिएको पीपीई लगाएर खोप लिने व्यक्ति हेल्थ असिस्टेन्ट लालबहादुर रोकाय हुनुहुन्छ । उहाँलाई पारीबाट खोप पास गर्ने व्यक्ति कार्यालय सहयोगी गगत विक हुनुहुन्छ भने भिडियो खिचिदिने व्यक्ति स्टाफ नर्स अञ्जली थकाली हो ।
यस्तो थियो भिडियो













प्रतिक्रिया दिनुहोस्