६ असार २०७८, आईतबार ००:००

देउवा निवासमा एमालेबिरुद्ध माधवले गरे भीष्मप्रतिज्ञा, एकताको पक्षमा लागेका आफ्नै समुहका नेतामाथि गम्भीर आक्षेप


काठमाडौं, असार ६ । आफ्नै समुहका नेताको सुझाव अबज्ञा गर्दै एमाले बिभाजनको रोडम्यापमा हिडनु भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस नेतृत्वको सरकार गठनको मार्गचित्रबाट आफू पछि नहटने प्रतिज्ञा गर्नुभएको छ । देउवा निवास बुढानिलकण्ठमा आज बसेको बिपक्षी गठबन्धनको बैठकमा नेता नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगै धेरै बिषयमा सहमति भइसकेको र आफूहरु एमाले नफर्कने निर्णयमा पुगिसकेको कारण बिपक्षी गठबन्धनमा कायमै रहने प्रतिज्ञा गर्नुभएको हो ।

बैठकमा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार नेता नेपालले बाहिर बक्तब्यमा आफूले एमाले बरिष्ठ नेता भन्ने गरे पनि बैठकमा भने एमाले नेताका रुपमा आफूलाई नहेर्न संबोधन पनि नगर्न आग्रह गर्नुभएको छ । ‘बाहिर बक्तब्यवाजी गर्दा एमाले भन्ने हो, यहाँ बैठकमा चाँहि एमाले नभन्नोस, एमाले छ उहिल्यै छाडिसकियो नि, एमालेमा रहेका हाम्रा समुहका मान्छे नबिच्किउन भनेर पो भनेको हो त,’ नेपालको भनाई थियो । उहाँले प्रचण्डसँगको सहकार्य लामो समयसम्म जाने सहमति भइसकेको कारण आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर फर्कने कुरा संभव नभएको घोषणासमेत गर्नुभएको छ ।

नेता नेपालका अनुसार एमाले नेतृत्वको सरकार केन्द्रदेखि प्रदेशसम्म फालेर कांग्रेस नेतृत्वमा गठन गर्ने अभियानमा सवै लाग्नुपर्ने आफ्नो योजना पनि सुनाउनु भएको छ । ‘गण्डकीमा एमालेको सरकार फालियो, देउवाजीलाई बधाई छ, अव प्रदेश १, बागमति र लुम्बिनीमा पनि एमालेलाई सत्ताबाट हटाउनु पर्छ, यस्कोलागि कांग्रेसले पहल गरोस, मेरो साथ छ,’ बैठकमा नेपालको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने ।
स्रोतका अनुसार बैठकमा देउवा र प्रचण्डले तपाईले धोका त दिनु हुन्न नि भन्ने प्रश्न गरेपछि नेपालले यस्तो प्रतिज्ञा गर्नुभएको थियो । बैठकमा नेपालले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गर्दै प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

महामन्त्री खडकाका अनुसार बैठकमा माधव नेपाल पक्षले सहयोग गरेका कारण तीनवटै प्रदेशका नीति तथा कार्यक्रम पारित भएको निश्कर्षसहित अब तीन ओटै प्रदेशमा एमालेको सरकार ढालेर नयाँ बनाउन राजनीतिक पहल गर्ने निर्णय भएको छ । बैठकमा नेता नेपालले एमाले एकताको प्रयासमा लागेका दोस्रो तहका नेताहरुलाई चक्रब्यूँहमा पारेर आफूतिरै ल्याउने योजनासमेत सुनाउनु भएको छ । बैठकमा नेता नेपाल र भीम रावलले एकताको पक्षमा लागेका आफ्ना समुहका नेताहरुमाथि गम्भीर आक्षेपसमेत लगाउनु भएको थियो । मलाई छाडेर गए तिनीहरुको हैसियत सकिन्छ, अव बढता भए भने यता ल्याएर पनि समाप्त नै पारिन्छ,’ नेता नेपालको भनाई उधृत गर्दै बैठकमा सहभागी अर्का नेताले भने ।