जनता टाइम्स

११ असार २०७८, शुक्रबार ०७:१५

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध


काठमाडौं, ११असार । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताउनुभएको छ । रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुनाले पार्टीको नाम र अध्यक्ष दुवै अवैध रहेको जिकिर नेता साहले गर्नुभएको हो ।

देशमा रहेका सबै राजनैतिक दलको हकमा एकै किसिमको नियम लागू हुनुपर्नेमा कुन नियमले निर्वाचन आयोगले प्रचण्डलाई अध्यक्ष मानिरहेको हो भन्ने प्रश्न पनि नेता साहले गर्नुभएको थियो।

२०६९ पछि पार्टीको कुनै अधिवेशन नै नभएको बताउँदै नेता साहले नौ वर्ष बित्दा पनि अध्यक्ष मानिरहेको निर्वाचन आयोगले विधिसम्मत कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्नुभएको छ । विधिसम्मत अधिवेशन पनि नगर्ने तथा अनिश्चित कालसम्म अध्यक्ष बनिरहन खोज्ने प्रचण्डको महत्वाकांक्षामा निर्वाचन आयोगले पार्टी र अध्यक्षको मान्यता दिइरहेर दलभित्रको लोकतन्त्रलाई पनि अवैधानिक बनाएको आरोप लगाउनुभयो । नागरिक दैनिकमा यो समाचार छ ।