११ असार २०७८, शुक्रबार ००:००

बाढीप्रभावितलाई कोरोना खोप प्राथमिकतामा राख्ने निर्णय गर्दै मन्त्री श्रेष्ठको पदभार ग्रहण


काठमाडौं, असार ११

सरकारले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाविरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । आज दिउँसो स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री कृष्णगोपाल श्रेष्ठले उक्त जानकारी दिनुभएको हो । बाढीका कारण विस्थापित हुँदा समूहमा बस्नुपर्ने भएकाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खोप प्राथमिकतामा राखिएको उहाँले सुनाउनुभयो ।

गतसाता आएका बाढीले सिन्धुपाल्चोक, मनाङ र म्याग्दी प्रभावित भएका छन् । पदभार ग्रहण कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बाढी पीडितलाई खोप अभियानको पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । कोरोनाको तेस्रो लहरको तयारीस्वरुप ६०० आइसीयू बेड, १८० थान भेन्टिलेटर र अक्सिजन प्लान्ट थप्ने तयारी भएको समेत उहाँले जनाउनुभयो ।

कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २५० आइसीयू बेड थप्ने तयारी भएको समेत सचिव अर्यालले सुनाउनुभयो । मन्त्री श्रेष्ठले आजै वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सम्हाल्नुहुने भएको छ ।