जनता टाइम्स

१४ असार २०७८, सोमबार २०:०९

मदन भण्डारी पुरस्कार एम्बुलेन्स चालक र नर्सलाई


काठमाडौं, असार १४

यस वर्षको मदन भण्डारी पुरस्कार एम्बुलेन्स चालक र नर्सलाई प्रदान गरिएको छ । जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा मदन भण्डारी ‘फाउण्डेसन’ द्वारा आज आयोजित मदन भण्डारी पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी पुरस्कार कीर्तिपुरका एम्बुलेन्स चालकबलबहादुर गुरुङ र भेरी अञ्चल अस्पतालकी नर्स सुनिता सहकारीलाई प्रदान गर्नुभएको हो ।

मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

नर्स सहकारीले कोभिडका कारण आफ्ना आफन्त गुमाउँदा पनि र रक्त क्यान्सर भएका पति गुमाउनु पर्दा काजक्रियाका दिन बाहेक अरु बेला उपचारमा दत्तचित्त भएर संलग्न रहेकोमा पुरस्कार दिइएको थियो ।

नर्स सुनिता सहकारी

अर्का पुरस्कृत चालक गुरुङले कोभिड–१९ को उत्पत्तिस्थल बुहानबाट आएका नेपाली विद्यार्थीलाई ल्याउने कामदेखि अनवरत रुपमा कोरोना विरामीको सेवा गर्दै आउनुभएको छ । कार्यक्रममा प्रधानमन्त्रीले जननेता मदन भण्डारी र संविधान विषयक खुल्ला निबन्ध प्रतियोगिताका विजयीहरुलाई समेत पुरस्कार वितरण गर्नुका साथै प्रतिष्ठानद्वारा प्रकाशित मदन भण्डारी सम्बन्धी पुस्तकको लोकार्पण गर्नुभएको थियो ।