जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार ११:२५

हाइड्रोपावरले अचानक ड्याम खोल्दा युवती बेपत्ता


धादिङ, जेठ ३०

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता हुनुभएको छ । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएको उहाँलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर रहेको उहाँ काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत हुनुहुन्थ्यो ।

अध्ययनकै सिलसिलामा ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएको थियो । आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा गएको युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताउनुभयो । पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उहाँले बताउनुभयो ।

बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताउनुभयो ।