जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार १३:२९

दुर्घटनामा सेनाका लेस नायकको मृत्यु


हेटौँडा, जेठ ३०

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै बुधबारराति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका ३० वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको र सोही क्रममा उहाँको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।