जनता टाइम्स

१९ असार २०७८, शनिबार १३:५५

त्यसपछि सहमतिको ‘ड्राफ्ट’ बोकेर सम्पर्कबिहीन बने माधव


काठमाडौं, असार १९ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल आफैले तयार पारेको सहमतिको मस्यौदाबाट पछि हटदै आफ्नै समुहका नेतासँग सम्पर्कबिहीन हुनुभएको तथ्य खुलेको छ । एमाले कार्यदलमा रहेका माधव समुहकै एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार माधव सहमतिको मस्यौदामा सहमत भएपनि प्रचण्डको फोन आएपछि एकाएक निहुँ खोज्न थाल्नुभएको हो ।

‘हामीले एमाले फुट्न नदिन कोसिस गरेकै छौं, तर माधव कमरेडको मुड सानोसानो भए पनि पार्टी खोलेर त्यसको अध्यक्ष बन्नेजस्तो देखिन्छ, हेरौं के हुन्छ,’ कार्यदलमा रहेका माधव समुहकै एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार शुक्रवारको एमाले केन्द्रीय कमिटी बैठक अगावै अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच बार्ता गराई कार्यदलमा भएको सहमतिको मस्यौदालाई अन्तिम रुप दिने प्रयाश भएको थियो । लामो गृहकार्यपछि मुख्यतः तीन बुँदामा केन्द्रित रही सहमतिको मस्यौदा तयार भएको थियो । सो सहमतिबारे कार्यदलका सदस्यसँग नेपालले सहमति जनाउनु भएको थियो । तर शुक्रवार बिहान एकाएक नेपाल आफ्नै समुहका नेतासँग गरेको प्रतिवद्धताबिपरित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगको गोप्य बैठकमा जानुभएको पाइएको हो ।

‘कार्यदलले तयार पारेको मस्यौदामा माधव कमरेड सहमत हुनुभएको थियो, शुक्रवार बिहानै प्रचण्डको फोन आएछ, त्यसपछि उहाँ भाँडिनुभयो, कार्यदलकै सदस्यलाई समेत छलेर दिनभर फोन पनि नलाग्ने बनाएर प्रचण्ड र देउवासँग गोप्य बार्तामा बस्नुभयो,’ कार्यदलमा रहेका माधव समुहकै एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार नेपाल पछिल्लो समय देउवा गठबन्धनलाई धोका दिएर जान नहुने बरु एमालेमाथि जस्तो सुकै क्षती पुर्याउन तयार हुनुपर्ने निश्कर्षतिर जानुभएको छ ।

ती नेताका अुनसार बिहीबार कार्यदलको छलफलमा एमाले एकतावद्ध राख्नेगरी बीचको बाटो खोज्ने सहमति जुटेको थियो । जस्को पहिलो बुँदामै सर्वाेच्चमा बिचाराधिन रिटबारेमा सुत्रवद्ध गरिएको थियो । सहमतिमा प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटका सन्दर्भमा सर्वोच्चबाट आउने फैसलाभन्दा अघिका विषय बिर्सेर त्यसपछि आउने परिस्थितिको मिलेर सामना गर्ने उल्लेख थियो । ‘अदालतको निर्णय पश्चातको परिस्थिति मिलेर सामाना गर्ने,’ कार्यदलले तयार पारेको पहिलो बुँदामा भनिएको थियो । यसरी सहमति गर्दा देउवालाई प्रधानमन्त्री बनाउन २३ सांसदले गरेको हस्ताक्षर फिर्ता हुनुपर्छ भन्ने संस्थापन पक्ष र प्रतिनिधिसभा बिघटनको निर्णय नै फिर्ता गर्नुपर्छ भन्ने नेपाल पक्षबीच भएको समझदारीको बटमलाइन बन्ने कार्यदलको निश्कर्ष थियो ।

यस्तै अर्काे सहमति एमालेका पुराना २ सय ३ र पछि थपिएका केन्द्रीय सदस्यहरुलाई पनि कुनै बिधिमार्फत् निरन्तरता दिने समझदारी पनि कार्यदलमा बनेको थियो । सहमतिलगत्तै विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेता सहमतिको ड्राफ्ट लिएर बालुवाटार जानुभयो भने घनश्याम भूसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे नेपाल निवास कोटेश्वर जानुभएको थियो । कार्यदलले तयार पारेको सो मस्यौदामा बिहीवार बेलुका माधव सहमत हुनुभएको थियो ।

‘माधव कमरेड सहमत बनेपछि हामीले प्रधानमन्त्रीको फोन आउँछ, तपाईंले मिल्नेगरी कुरा गर्नुहोला भनेर निस्कियौं, उहाँले फोन त उठाउनु भएछ तर कुरा गर्न मन थिएन भन्दै प्रधानमन्त्रीलाई झनै भडकाउनु पो भएछ,’ कार्यदलमा रहेका अर्का सदस्यले जनताटाइम्ससँग भने । उहाँका अनुसार नेपालसँगको कुराकानीपछि केन्द्रीय कमिटी बैठक दुई दिन पर सार्नसमेत अध्यक्ष ओली तयार हुनुभएन । ‘फोन संवदमा त जे गर्दा केपीलाई भडकाउन सकिन्छ, त्यही काम पो गर्नुभएछ,’ ती नेताले भने । माधवले एमालेमा मिलन नहोस भनेरै केपीलाई भडकाउने काम गरेको ती नेताको बुझाइ छ ।

माधवसँगको टेलिफोन संवादबारे प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बिहीबारको केन्द्रीय कमिटी बैठकमै सबिस्तार बिफ्रिङ गर्नुभएको छ । ओलीका अनुसार २५ मिनेट फोन संवादमा आफूले भेटौं भनेर चारपटक अनुरोध गरेको तर नेपालले अस्वीकार गर्नुभयो ।
अघिल्लो दिनको सहमति भाँडिने देखेपछि कार्यदलका केही नेताहरु शुक्रवार बिहान पुनः नेपाल निवास पुग्नुभएको थियो । कार्यदलका चार सदस्य नै शुक्रबार विहान ८ बजे नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको हो । तर नेपाल फोन नलाग्ने बनाएर सम्पर्कबिहीन बन्नुभयो । ओलीसँगको फोन संवादपछि शुक्रबार दिनभर पनि नेता नेपाल कार्यदलका सदस्यहरुको सम्पर्कमै आउन चाहनुभएन ।