जनता टाइम्स

२० असार २०७८, आईतवार १७:०५

आज २५५२ निको, थपिए १६०५ संक्रमित, २७ ले गुमाए ज्यान


काठमाडौं, असार २०

नेपालमा आज २ हजार ५५२ जना कोरोनाबाट संक्रमणमुक्त हुनुभएको छ । त्यस्तै गएको २४ घण्टामा १ हजार ६०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार ४ हजार ८७६ पीसीआर र ३२५६ जनाको एन्टीजेन परीक्षणसहित ८ हजार १३२ जनाको परिक्षण भएको थियो ।

यसैगरी पछिल्लो २४ घण्टामा २७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाउनुभएको छ । आज काठमाडौं उपत्यकामा ४६१ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना नयाँ कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । यस्तै हाल ९ जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यका, चितवन, रसुवा, म्याग्दी, कास्की, जुम्ला, सुर्खेत, मकवानपुर जिल्ला भने संक्रमणको उच्च जोखिममा रहेको प्रवक्ता पौडेलले बताउनुभयो । अहिलेसम नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । जसमध्ये ६ लाख ९ हजार २१८ हजार जना निको भएका छन् भने ९ हजार २२५ जनाको मृत्यु भएको छ ।