जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार १६:२७

कमलादीमा चारवटा वियर खाँदा अढाई लाखको विल आएपछि


काठमाडौं ।

विश्वमा निक्कै महंगा रक्सीका बारेमा हामीले पढ्दै र सुन्दै आएको हो । तर, नेपालमै चार वटा वियर खाँदा अढाई लाखको विल आएको छ । राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारमा बंगलादेशी नागरिकले ४ वटा वियर खाएर पैसा तिर्न खोज्दा दुई लाख पचास हजारको विल थमाइएको हो ।

गत सोमबार ९ बजेतिर तीन जना बंगलादेशी नागरिक सो डान्सबारमा छिरेका थिए । उनिहरुले त्यहा करिव एक घण्टा विताउदा चार वटा वियर र केही स्न्याक्स खाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीका अनुसार ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको जानकारी दिए ।

त्यसपछि अत्याधिक बिल कसरी आयो भन्दै बंगलादेशी नागरिकले संञ्चालकलाई प्रश्न गर्दा उल्टै मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गर्दै पठाइएको बंगलादेशी नागरिकले प्रहरीमा बयान दिएका छन् । मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । करीब ११ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरेको कमाण्डमा खटिएको टोलीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको थियो । उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।