जनता टाइम्स

२८ असार २०७८, सोमबार १३:२०

युवा नेतृत्वबाट मात्र देशमा परिवर्तन सम्भव छ : कार्यकारी उपाध्यक्ष ढुंगेल


काठमाडौं, असार २८

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष एवं एमाले केन्द्रीय सदस्य माधव ढुंगेलले युवा नेतृत्वबाट मात्र देशमा परिवर्तन सम्भव भएको बताउनुभएको छ । युवा परिषदले आयोजना गरेको संघीय संसदको नमुना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै ढुंगेलले युवालाई अधिकार र कर्तव्यको दायित्व बोध गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२४ वर्ष मुनिका युवालाई बिग्रनै दिनुहुन्न, २५ वर्ष माथिकालाई सुधार्नुपर्छ ।’

अधिकार प्राप्तिको आन्दोलनमा नेपालले उच्चता र श्रेष्ठता प्राप्त गरिसकेको उहाँले बताउनुभयो । अबको यात्रा स्थायी सरकार र समृद्धिको खाका र त्यसको प्रभावकारी कार्यान्वयन भएको उहाँको भनाइ छ । पुरानो मानसिकताबाट प्रभावित भएको राजनीतिक संस्कारले सरकारलाई अस्थिर बनाउने खेल भएको उहाँले बताउनुभयो । युवाले यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने उहाँले सुनाउनुभयो । युवालाई संविधान, कानुन, संसदीय अभ्यास र संसदीय मूल्य मान्यता सिकाउन युवा संसदको नमुना अभ्यास सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

परिषदका कार्यकारी उपाध्यक्ष एवं एमाले केन्द्रीय सदस्य माधव ढुंगेल

यो अभ्यासले युवमा लोकतान्त्रिक संस्कृतिको विकास गर्ने उहाँले बताउनुभयो । लोकतन्त्रको विकल्प अबको विश्वमा परिकल्पता गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो । लोकतन्त्र र लोकतान्त्रिक संस्कृतिको सही अभ्यास युवामा विकास भयो भने सभ्य र अनुशासित समाज बन्ने उहाँले बताउनुभयो । यसैगरी स्वयमसेवी भाव युवामा जगाउन पनि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘युवा औठा छाप हुने होइन, रचनात्मक हुने हो, नयाँ पुस्ता संसदमा कुर्सी हान्ने होइन, घर समाज र समुदाय देखिनै संयम् र रचनात्मक भएर अघि बढ्ने हो ।’ कार्यक्रममा देशका विभिन्न जिल्लाबाट छानिएका ८० जना युवाको जुम मार्फत सहभागित छ । कार्यक्रममा संघीय संसद् र सरकारमा हुने सबै व्यवस्थाको अभ्यास गराइने छ । ५ दिनसम्म चल्ने नमुना अभ्यास बुधबार समापन हुन्छ ।