जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १८:०७

रबि लामिछाने सवैभन्दा ठुला भ्रष्टाचारी भन्दै उर्जामन्त्री पुनकै हवाला दिएर फेक समाचार आएपछि…


काठमाडौं, जेठ ३१

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र पत्रकार रबि लामिछाने नै फेक समाचारको सिकार भएको तथ्य खुलेको छ । उर्जामन्त्री पुनको सचिवालयले नै मन्त्री र लामिछाने दुवै फेक समाचारको शिकार भएको तथ्य सार्वजनिक गरेको हो ।

गत जेठ २६ गतेको नयाँपत्रिका दैनिकमा प्रकाशित समाचारको हवाला दिएर उर्जामन्त्री पुनले यो देशमा सवैभन्दा ठुला भ्रष्टाचारी पत्रकारलामिछाने भएको भन्दै सम्पत्ति सुद्धिकरणको मुद्धा चलाउनु पर्नेसम्मको फेक समाचार प्रकाशित भएको थियो । आफूले कँहीकतै नबोलेको र नसोचेको बिषय एक्कासी समाचार आएपछि मन्त्री पुनको सचिवालयले सो पत्रिकाका सम्पादकसँग जानकारी माग्दा मात्रै नक्कली पत्रिका बनाएर फेक समाचार उत्पादन गरिएको तथ्य खुलेको हो । मन्त्री पुनका प्रेस संयोजक रोशन खडकाले आज बिज्ञप्ती नै निकालेर सो समाचार फेक रहेको जनाउनु भएको छ ।

सचिवालयले मन्त्री पुनसँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेको भन्दै सचिवालयले आपत्ति जनाएको हो ।

उक्त समाचारबारे सचिवालयले नयाँपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा सो समाचार नयाँपत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको भन्दै उक्त खवर झुटो भएको जानकारी दिनुभएको बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै पत्रकार लामिछानेको सन्दर्भमा मन्त्री पुनले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको पनि संयोजक खडकाले जनाउनु भएको छ ।

मन्त्रीकोे हवाला दिंदै आएका समाचारहरु सवै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको सचिवालले जनाएको छ ।