जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार ०९:१२

भीम रावल र रामकुमारी झाँक्रीको ठहर : सांसदलाई ल्यापटप बाँडेर हुर्मत लिने काम हुँदै छ


काठमाडौं, जेठ ३२

सांसदलाई एक लाखको ल्यापटप किन्ने संसद् सचिवालयको निर्णयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै केही सांसदले विरोध जनाएका छन् । नेकपा नेता भीम रावल र नेतृ रामकुमारी झाँक्रीले खुलेरै विरोध जनाउनु भएको हो । ‘सांसदलाई ल्यापटप किन्ने काम नहोस् । ल्यापटप चलाउन चाहनेले स्वयं व्यवस्था गर्नु उचित हुन्छ । त्यस्तो गर्न सांसदले सक्छन्,’ नेता रावलले भन्नुभएको छ ।

त्यस्तै, झाँक्रीले सांसदलाई खुद्रा–मसिना कुरा बाँडेर हुर्मत लिने काम भएको भन्दै आपत्ति जनाउनु भएको छ । ‘३३४ सांसदलाई ल्यापटप बाँड्ने निर्णय भएको कुरा बाहिर आइरहेको छ । यो कुराले मलाई दुःख लागिरहेको छ । सांसदलाई यस्ता खुद्रा–मसिना कुरा बाँड्ने र हुर्मत लिने काम वेलाबखत भइरहेको छ,’ झाँक्रीले भन्नुभयो, ‘यस्ता कुराले सांसदहरूप्रति जनताको नकारात्मक भावना विकास भएको देखिन्छ । प्रविधिमैत्री गराउँछु भन्दै सस्ता कुरा गरेर सांसदको हुर्मत लिने प्रयास बन्द गरियोस् । सांसदले आफ्नै कमाइले एउटा ल्यापटप किन्न सक्छन् ।’

संसद् सचिवालय प्रत्येक सांसदका लागि कम्तीमा एक–एक लाख पर्ने ल्यापटप खरिदमा लागेको छ । संसद्को व्यवस्थापन बोर्डले ल्यापटप खरिद निर्णय गरेपछि १९ जेठमा सचिवालयले टेन्डर आह्वानको सूचना प्रकाशित गरिसकेको छ । बोर्डमा सभामुखको अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, उपाध्यक्षसहित संघीय संसद् सचिवालयका महासचिव र सचिव सदस्य रहन्छन् । चालू आर्थिक वर्षमा पुँजीगततर्फ छुट्याएको बजेटबाट खर्च हुन नसकेको साढे तीन करोडले सांसदलाई ल्यापटप किन्न लागेको संसद् सचिवालयले बतायो ।

‘अर्थ मन्त्रालयको स्वीकृति लिएर १९ जेठमा टेन्डर आह्वानको सूचना प्रकाशित गरिएको छ र १९ असारपछि टेन्डर खुला गरेर कम्पनी छनोट गरी खरिद गरिन्छ । असार मसान्तसम्म ल्यापटप आइसक्छ,’ सचिवालय प्रवक्ता डा रोजनाथ पाण्डेले भन्नुभयो । प्रतिनिधिसभा र राष्ट्रिय सभामा अहिले कुल सांसद सिट तीन सय ३४ छ ।