जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १३:०६

सिलवालको नेतृत्वमा ओलम्पिक टिम जापान प्रस्थान


काठमाडौं, साउन १

टोकियो ओलम्पिकमा नेपालको ‘सेफ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा १० सदस्यीय टोली जापान प्रस्थान गरेका छन् । सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्यीय टोली आज बिहान जापान प्रस्थान गरेको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले जनाएको छ ।

सदस्य सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् । खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार रहेकी छिन् । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव जापान प्रस्थान गरेका छन् । त्यस्तै हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा नबिस मान सिंह प्रधान जापान प्रस्थान गरेका छन् ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने सोमबार पाँच सदसीय टोली जापान जाने छन् । अध्यक्षको नेतृत्वमा जापान जाने टोलीमा महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेप बोर्ड सदस्यद्धय सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ रहेका छन् । यस्तै साउन १० गते जापान जाने टोलीमा राखेप उपाध्यक्ष शिव कोईराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक ईन्दिरा मल्ल र एनओसी उप-महासचिव पिताम्बर तिम्सिना रहेका छन् ।

पौडीका तीन सदस्सीय नेपाली टोली यस अघि नै जापान पुगिसकेका छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिमको सहभागिता हुनेछ । ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन्।