जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १७:०५

असमानता भएको भन्दै पाएको तलबभत्ता स्वास्थ्यकर्मीद्धारा फिर्ता


जाजरकोट, साउन १

जाजरकोटका स्वास्थ्यकर्मीले आफूले पाएको तलबभत्ता फिर्ता गरेका छन् । तलबभत्ता वितरणमा असमानता भएको भन्दै कतिपय स्वास्थ्यकर्मीले आफूले कोभिडका समयमा पाएको तलबभत्ता फिर्ता गरेका हुन् । तहतगत रूपमा भत्ता पाउनुपर्ने माग गर्दै लामो समयपछि पाएको तलबभत्ता पनि फिर्ता गरेका स्वास्थ्य कार्यालय जाजरकोटका प्रमु टीकाराम जैशीले बताउनुभयो ।

प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा रकम मात्र पठाएपछि अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई दामासाहीमा भत्ता उपलब्ध गराइएको थियो । तलबभत्ताका लागि स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको थियो । तर प्रदेश सरकारले रु २३ लाख मात्र उपलब्ध गराएको थियो ।

तलबभत्ता वितरण गर्दा न्याय समानताभन्दा पनि सबैको चित बुझाउने खालको भएका कारण आफूहरुले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताउनुभएको छ । लामो समयदेखि तलबभत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै सङ्घर्षपछि पाएको रकमसमेत असमानता भएको भन्दै आक्रोश पोखेका हुन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयका कर्मचारीबीचमा पनि द्वन्द्वका कारण काम गर्न मुस्किल भएको कतिपय कर्मचारीहरूले बताएका छन् ।