जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १०:२०

नेपाल पक्षको सहजताका लागि देउवाले आजै विश्वासको मत लिने


काठमाडौं, साउन ३ ।  सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियूक्त हुनुभएका शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ।

सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लाग्नुभएको हो । संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभा बैठक आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने स्रोतले बताएको छ। संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आकलन गर्दै आजै विश्वासको मत लिन लाग्नुभएको हो । एमालेको माधवकुमार नेपालपक्षको सहजताका लागि चाँडै विश्वासको मत लिन लागिएको बताइएको छ। एकता प्रक्रिया चलिरहँदा विश्वासको मतले लफडा निम्त्याउने भएकाले पहिले यो कुरा टुंग्याएर मात्र एकता प्रयासमा केन्द्रित हुने नेपालपक्षको तयारी छ।