जनता टाइम्स

३ श्रावण २०७८, आईतवार ११:५२

कार्यव्यवस्था परामर्स समितिमा एमालेले भन्यो– आज विश्वासको मत नलिऔं


काठमाडौं, साउन ३। नेकपा एमालेको कार्यव्यवस्था परामर्स समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विश्वासको मत नलिन सुझाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएपछि कार्यव्यवस्था परामर्स समितिमा एमालेले देउवालाई आज विश्वासको मत नलिन आग्रह गरेको हो।

‘प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव दर्ता भयो, हामीले आज होइन अर्को दिन तोकौं भनेका छौं, धारा ७६ को उपधारा ५ अनुसारको सरकारले विश्वासको मत लिने प्रवन्ध नियमावलीमा देखिँदैन, यी प्रश्नहरू उठेका छन्’, एक सांसदले भन्नुभयो । यसैबीच नेपाल निवास कोटेश्वर नजिक रहेको एउटा सामुदायीक भवनमा यतिबेला तत्कालिन पार्टी एकता मिलाउन गठित समितीका सदस्यहरू छलफलमा जुटेका छन्। छलफलमा नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरू छन् भने ओली समूहका सुवास नेम्बाङ, विष्णु पौडेललगायतका नेताहरू कोटेश्वर पुग्नुभएको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालयमा बुझाइएको दाबीमा नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गर्नुभएको थियो । त्यस्तै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दिइएको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए ।देउवाले आज बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदैहुनुहुन्छ । त्यसका लागि संसद सचिवालयमा प्रस्ताव दर्तासमेत भइसकेको छ ।