जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १३:४५

सरकारले भन्यो : ढुक्क हुनोस, जनभावनाबिपरित गुठी बिद्येयक पारित हुँदैन


काठमाडौं, जेठ ३२

कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले जनताको भावनाबिपरित हुने गरी गुठी विधेयक पारित नगर्ने प्रतिवद्धता जनाउनु भएको छ । आमनागरिकको सामाजिक र सांस्कृतिक भावनाविपरीत देखिए गुठी विधेयक आफूहरुले कुनै हालतमा पारित नगर्ने प्रतिवद्धता कार्यबहाक प्रधानमन्त्री पोखरेलले गर्नुभएको हो ।

काठमाडौं महानगरपालिका वडा नं. ४ ले आज आयोजना गरेको प्रथम कामनपा–४ वडास्तरीय खुला दौड प्रतियोगिताको समापन समारोहमा बोल्दै उहाँले जनताको भावनाअनुसार नै सवै कानून निर्माण हुने प्रष्ट पार्नुभयो । ‘जननिर्वाचित प्रतिनिधि साथीहरुले जहिले पनि जनताको भावनालाई बुझेर काम गर्नुपर्छ । जनताको भावनाविपरीत काम गरियो भने जतिसुकै ठूलो पार्टी वा नेताले गरे पनि जनताले विरोध गर्छन् । अहिले पार्टीका केही कामप्रति पनि जनताले आलोचना गरेका छन, त्यो आलोचनाले हामीलाई झनै सतर्क बनाएको छ,’ पोखरेलले भन्नुभयो ।

उहाँले गुठीसम्बन्धी ऐन छलफलमा मात्रै ल्याइएको पनि प्रष्ट पार्नुभयो । ‘अहिले कानुन नै बनिसकेको छैन, छलफलमात्रै भएको हो, जनताको धार्मिक, सांस्कृतिक, सामाजिक भावना र एकताको कुुरालाई कहिले पनि नोक्सान गर्न हुँदैन । यी चिजलाई सम्मान गर्नुपर्छ । जनताले एक भएर सयौं वर्षअघि सुरु गरेको चिजलाई मास्न हुँदैन,’ कार्यबाहक प्रधानमन्त्री पोखरेलको भनाई थियो ।

जनताको हित र भावना विपरीत कुनै पनि काम हुन नदिने प्रतिबद्धता पनि उहाँले जनाए । ‘गुठी ऐनलाई लिएर अहिले धेरैले बर्बादै भयो, उत्पातै भयो भनिरहेका छन, त्यतिसम्म पनि भएको छैन, हामी जनताको हितविपरीत कुनै पनि निर्णय गर्दैनौं, हुन पनि दिँदैनौं,’ पोखरेलले भन्नुभयो । धर्म निरपेक्ष राज्यमा धार्मिक, सांस्कृतिक कार्यक्रममा नियन्त्रण गर्ने गरी आएको भन्दै प्रस्तावित गुठी विधेयकको विरोध भइरहेको छ । बिरोध बढन थालेपछि सरकारले गुठियारहरुसँग बार्ता अघि बढाएको छ । यही बेला सरकारको तर्फबाट कार्यबाहक प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका सचिवालय सदस्य पोखरेलले विधेयकलाई सच्याएर पारित गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवालले जनसहभागितासहितको विकास मुलुकले खोजेको बताउनु भयो । भौतिक संरचनासँगै आमनागरिकको शान्ति, सुरक्षा, जागरुकता र गुणस्तरीय जीवन सुनिश्चित भएपछि मात्रै मुलुक समृद्ध हुने उहाँको भनाई थियो । ‘हामी इतिहासको अत्यन्तै महत्वपूर्ण घडीमा छौं,’ उनले भने, ‘एकातिर हामीसँग चुनौतीका चाङ छन, अर्काेतिर आमनागरिकले हामीप्रति ठूलो भरोसा राखेका छन, त्यसलाई कुनै हालतमा पूरा गर्नुपर्ने दायित्व छ,’ सिलवालले भन्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष मोहन बिष्टले भूमाफियाबाट सार्वजनिक जग्गा मुक्त गर्न आफू लागि परेको बताउनु भयो । ‘भूमाफिया निकै शक्तिशाली हुँदा रहेछन, अनेक दबाबबीच मेरो वडामा अतिक्रमित जग्गालाई सार्वजनिकीकरण गरिरहेको छु,’ बिष्टले भन्नुभयो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ चण्डोलस्थित विशाल मिलन केन्द्रद्वारा आयोजित दौड प्रतियोगितामा नवीन कार्की प्रथम, आलोक थापा दोस्रो र नवराज बुढामगर तेस्रो हुनुभएको छ । प्रतियोगितामा वडाका ४ सय ७ जनाले सहभागिता जनाएका थिए ।