जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १६:४२

समाजवादी पार्टीका नेताले कुटेर सडकमै बेहोस बनाए पत्नी


सप्तरी, जेठ ३२

उपेन्द्र यादव र डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीका एक नेताले सार्वजनिक स्थलमै श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएका छन । दर्जनौं मानिसका अगाडि ती नेताले श्रीमतीमाथि हेलमेट, लात्ती र मुक्का प्रहार गरी बेहोस बनाएका हुन ।

यसरी पत्नी कुटेर बहादुरी देखाउने नेता हुन समाजवादी पार्टीका सप्तरी अध्यक्ष ३५ वर्षीय केदार यादव । उनले राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलमा श्रीमती बिनिता यादवलाई दर्जनौं सर्वसाधारणका अगाडि शुक्रबार निर्मम कुटपिट गरेका हुन । बथनाहास्थित द्वारका श्रीलाल सातनी यादव माविकी शिक्षका बिनिता विद्यालयबाट स्कुटरमा घर फर्कंदै गर्दा यादवले बाटैमा निर्घात कुटपिट गरेका हुन ।

कुटपिटबाट गम्भीर घाइते भएर सडकमै बेहोस अवस्थामा लडेकी बिनितालाई स्थानीयबासीले उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल पुर्याएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । पत्नी कुटने यादवले भने सामान्य ठेलाठेल भएको बताएका छन । स्कुटर माग्दा नदिएकाले स्कुटरको साँचो खोसाखोस मात्र भएको भन्दै कुटपिटको आरोप निराधार भएको यादवले दाबी गरे ।

पटकपटक झगडा हुने गरेको भन्दै बिनिता विगत आठ वर्षदेखि राजविराजस्थित माइतीघरमा बस्दै आएकी छन् । यसैबीच बिनिताले श्रीमान यादवमाथि कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी छन् । तर प्रहरीले अभियुक्तलाई अहिलेसम्म पक्राउ गरेको छैन ।