जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १२:१४

उत्कृष्ट शोधपत्र प्रस्तुत गर्दै सकियो अमेरिकामा नेपाली बैज्ञानिकहरुको सम्मेलन



वासिंगटन डिसी, साउन ५ । अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) को चौथो बैज्ञानिक सम्मेलन नोबेल पुरस्कार विजेता बैज्ञानिक डा. योकीम फ्रान्क को आतिथ्यमा सम्पन्न भएको छ।

तीन दिने ऊक्त सम्मेलन शुत्रmवार जुलाई १६ मा सुरु भएको थियो र अन्तिम दिनमा संस्थाको चौथो वार्षिक साधारणसभा गरी जुलाई १८ मा सम्पन्न भएको छ। संस्थाका कार्यकारी सदस्य डा. नबिन मालाकारको संयोजकत्वमा भएको तिन दिने उक्त सम्मेलनमा अमेरिका, नेपाल, जापान, यु.के, क्यानाडा र भारतबाट जम्मा ११७ वटा बैज्ञानिक अनुसन्धान शोधपत्रहरु प्रस्तुत गरिएका थिए भने ३०० भन्दा बढी सहभागी भएका थिए। नियमित अनुसन्धान पत्रहरु बाहेक अनुसन्धानमा सहकार्यको महत्व विषयमा र नेपालको अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरुको सहयोगको (भूमिका) विषयमा पनि छलफल भएको थियो।

कोभिड – १९ को महामारीले गर्दा यसबर्षका सम्पूर्ण कार्यक्रम अनलाइन प्रविधि वेभ एक्समार्फत गरिएको थियो। सम्मेलनमा प्रस्तुत भएका शोधपत्रहरु मध्ये छानिएका शोधपत्रहरु नेपाल भौतिक बिज्ञान समाजको बिशेष संस्करणमा प्रकाशित गरिनेछन्।

सम्मेलनमा विभिन्न बिश्वबिद्यालयका प्राध्यापकहरु, बिद्यार्थीहरु र विभिन्न अनुसन्धान प्रयोगशाला तथा उद्योगहरुमा कार्यरत बैज्ञानिकहरु सहभागी भएका थिए। सम्मेलनका सबै दिनहरुमा उत्साहप्रद उपस्थिति रहेको थियो र उत्कृष्ट अनुसन्धान पत्रहरु प्रस्तुत गरिएका थिए।

सम्मेलनको पहिलो दिन रसायन शास्त्रमा नोबेल पुरस्कार विजेता कोलम्बिया विश्वविद्यालय, न्यूयोर्क, संयुक्त राज्य अमेरिकाका प्रोफेसर तथा वैज्ञानिक डा. योकीम फ्रान्क विशिष्ट बक्ताको रुफमा क्रायो–इलेक्ट्रोन माइत्रोस्कोपीको विकास जसले मानव आँखामा नदेखिने वस्तुहरूको सफल दृश्यमा निर्माणमा गरेको योगदानको बारेमा मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै सम्मेलनको दोस्रो दिन लुजिआना स्टेट युनिवर्सिटी, ब्याटन रूज, अमेरिकाका प्रोफेसर डा. बिजय कार्कीले आफ्नै अनुभवमा आधारित रहेर अन्तर विषयको अनुसन्धानको बारेमा नेपालीहरु माझ आफ्नो प्रेरणात्मक बिचार राख्नुभएको थियो । सम्मेलनको दोस्रो दिन फ्रंक्लिन पेअर्स बिश्वबिध्यालय, अमेरिकाका प्रोफेसर डा. रुद्र अर्यालको संयोजनमा नेपालमा अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरूको संलग्नतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सामुहिक छलफल भएको थियो ।

छलफलमा नास्ट कुलपति डा. सुनीलबाबु श्रेष्ठ, नीति अनुसन्धान संस्थानका कार्यकारी अध्यक्ष डा. बिष्णुराज उप्रेती र त्रिभुवन विश्वविद्यालय विज्ञान र प्रविधि संस्थानका डीन डा. बिनिल अर्यालले नेपालमा अनुसन्धान अबसर र सीमितताको बारेमा चर्चा गर्नुभएको थियो । सोही कार्यक्रममा संस्थाका अध्यक्ष डा.जगन देवकोटाले एन्पाले अमेरिकी भौतिकशास्त्रीहरु लगायत संसारका धेरै भौतिक शास्त्रीहरुको समूहसँग सम्बन्ध बढाउंदै लगेको बारेमा जानकारी दिनुभयो ।

एन्पा अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था हो र यसले आफ्नो स्थापना देखि नै प्रत्येक वर्ष बैज्ञानिक सम्मेलन गर्दै आएको छ । यस वर्षको सम्मेलनमा नेपालका दुइ संस्थाहरु–नेपाल भौतिक बिज्ञान समाज र पोखरास्थित फिजिक्स रिसर्च इनिसियेटिव सह–आयोजकको रुपमा रहेको थियो । एन्पाले आफ्नो स्थापनाकाल देखि नै विभिन्न गोष्ठीहरु, नियमित रुपमा कम्प्युटर प्रोग्रामिङ्ग कक्षाहरु, मासिक रुपमा विभिन्न खोजमुलक सोधपत्र प्रस्तुत गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ। यसैगरी संस्थाको बार्षिक साधारणसभा पनि जुलाई १८ मा सम्पन्न गरियो, जसमा वर्षभरि गरिएका सम्पूर्ण कार्यक्रमहरु र अहिलेसम्मको आर्थिक विवरण पेश गरिएको थियो।