जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १७:१६

बिश्वप्रकाश नेतृत्वको बिभागले तयार पार्‍यो डिजिटल भोटिङ प्रविधि, यस्तो छ कांग्रेस महाधिवेशनमा मतदान गर्ने बिधि


काठमाडौं, साउन ५ । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनमा डिजिटल भोटिङ प्रविधि प्रयोग गर्ने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने गरी प्रविधिको विकास गरेको हो ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै आगामी १४ औं महाधिवेशनमै डिजिटल भोटिङको प्रविधि प्रयोग गर्न सकिने जानकारी दिएको छ । बिज्ञप्तीमा महाधिवेशनमा केन्द्र र सबै प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने गरी डिजिटल भोटिङको प्रविधि सुनिश्चित गरिएको उल्लेख छ । विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न विभागको तेस्रो पूर्ण बैठकबाट डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिइएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय समितिले आवश्यक ठानेर निर्णय गरे सून्यबाट थाल्नु नपर्ने गरी प्रविधिको विकास गरिएको समेत विज्ञप्तिमा जनाइएको छ । बिभागका अनुसार डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्ययोजना पनि तय भइसकेको छ । बिज्ञप्तीमा जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको जानकारी दिइएको छ ।

कांग्रेसको सञ्चार विभागले यसअघि पहिलोपटक कांग्रेसमा वेबसाइटमार्फत क्रियाशील सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) गर्ने काम गरेको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनलाई लक्षित गरी डिजिटल भोटिङको प्रविधिको बिकास गरिएको बिभागले जनाएको छ ।