जनता टाइम्स

६ श्रावण २०७८, बुधबार १२:५४

देउवालाई गगन थापाको प्रश्न : प्रधानमन्त्रीज्यू, तपाईलाई यो कानून थाह छैन र ?


काठमाडौं, साउन ६ । कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णय सच्याउन भन्दै मैदानमा उत्रनु भएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च बेहोर्ने अघिल्लो सरकारको निर्णयको कडा आलोचना गर्नुभएका थापामाथि सामाजिक सञ्जालमै खोजी सुरु भएपछि केहीबेर अघि फेसबुकमार्फत थापाले देउवालाई निर्णय सच्याउन भन्नुभएको छ ।

प्रधानमन्त्री देउवाले भारतमा उपचार गराइरहनु भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च बेहोर्ने घोषणासहित टेलिफोन संवाद गर्नुभएको समाचार बाहिर आएपछि पुरानो अडानका कारण गगन थापा देउवाकै बिरुद्ध उत्रनु भएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू,
अतः ’कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ,’ थापाले भन्नुभएको छ ।

यस्तो छ थापाको अडान

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’भन्ने व्यवस्था छ र उक्त कानून २०७५÷६÷२ गतेदेखि लागू भइसकेको छ । यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।

जहाँसम्म पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ, हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ, यसले उहाँको कद अझ बढेको छ । झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं । मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ ।

उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ । उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै । यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
अतः ’कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।