काठमाडौं, साउन ६
नेपालमा आज थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा सह–प्रवक्ता डा. समिर अधिकारीले बताउनुभयो । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् । अहिले नेपालमा संक्रमणदर सरदर १९.२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
तर पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण पुष्टि भइरहेको छ । यो हप्ता थप ३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन भने यस अवधिमा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज थपिएकाको संख्यासँगै नेपालमा संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ । जसमध्ये ६ लाख ३६ हजार ४०२ निको भएका छन् भने ९ हजार ६३७ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ । भीडभाड बढेसँगै नेपालमा फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ ।













प्रतिक्रिया दिनुहोस्