जनता टाइम्स

१ असार २०७६, आईतवार ०९:४०

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, युरोप भ्रमण फलदायी रहेको निश्कर्ष


काठमाडौं, असार १

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो ।

युरोपका तीन मुलुकको भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुनुभएको हो । गत जेठ २५ गते स्वीटजरल्याण्डको जेनेभातर्फ जानुभएको प्रधानमन्त्री ओलीले त्यहा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतबार्षिकी समारोहमा सम्बोधन गरी बेलायत र फ्रान्सको भ्रमण गर्नुभएको थियो ।

जेनेभाबाट बेलायत पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहा आफ्ना समकक्षी थेरेशा मे, राजकुमार ह्यारीसहित बिशिष्ट ब्यक्तिहरुसँग भेटबार्ता गर्नुभयो । भेटबार्ताको क्रममा पहिलो पटक बेलायत, नेपाल र भारतबीच भएको त्रीपक्षीय सम्झौतालाई पुनरावलोकन गरी द्धीपक्षीय बनाउनु पर्ने नेपालको अडान प्रष्टसँग राख्नुभयो भने गोर्खाहरुको समस्या समाधानका लागि बेलायत लचक हुनुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राख्नुभयो ।

बेलायतबाट सार्वजनिक रेल चढेर फ्रान्स पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्ना सकमक्षीसँग भेटबार्ता गर्नुका साथै बेलायती लगानीकर्तालाई नेपालमा लगानीको सुनौलो अवसर रहेको तथ्य राख्नुभयो । फ्रान्सबाट जेनेभा हुँदै प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको हो । युरोप भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले नेपालमा लगानी भित्र्याउन बिशेष पहलकदमी लिनुभएको थियो ।

स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सका ब्यापारी समुदाय र गैर आवासिय नेपाली समुदायलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीले अपिलसमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको भ्रमणबाट लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक बनेका छन । प्रधानमन्त्री ओलीको युरोप भ्रमण फलदायी रहेको निश्कर्ष भ्रमण दलले निकालको छ । लामो समयपछि भएको बेलायत र फ्रान्ससँग कार्यकारी प्रमुख तहको बार्ता र द्धीपक्षीय सम्बन्ध बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा पनि गरिएको छ ।