जनता टाइम्स

१ असार २०७६, आईतवार ११:३७

ओली सरकारले यसरी फिर्ता ल्यायो २६ बर्षअघि भूमाफियाले हडपेको सरकारी जग्गा


काठमाडौं, असार १

प्रधानमन्त्री निवास बालुवाटार बिस्तारको योजना बन्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कम्तीमा पाँच रोपनी जग्गा खरिदको योजना बनायो । वरपरका सवै जग्गाधनी सोधखोज भयो । त्यही बेला पत्ता लाग्यो लामो समयदेखि सरकारी जग्गा हडप्ने भूमाफियाले ललिता निवासको नाममा रहेको सरकारी जग्गा हडपेको तथ्य । प्रधानमन्त्री केपी शर्मा ओली यो तथ्यबारे जानकार हुनसाथ छानविन समिति बन्यो । समितिले तथ्यसहित प्रतिवेदन बुझायो । जुन तथ्यका आधारमा सरकारले बालुवाटारको सरकारी जग्गा रोक्का गर्ने निर्णय गर्यो ।

प्रधानमन्त्री ओलीले गत फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकबाट २६ वर्षअघि हडपिएको ललिता निवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराउनु भयो । सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिको सिफारिसअनुसार प्रधानमन्त्री ओलीले व्यक्तिका नाममा गराइएको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी जग्गा फिर्ता ल्याउने निर्णयसहित दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) लाई जिम्मा दिने निर्णय लिनुभयो ।

‘ललिता निवासले चर्चेको सरकारी जग्गा हडप्ने कामको सिलसिलाबारे जानकारी हुन साथ प्रधानमन्त्री ओलीले जो सुकै होस, कार्वाही गर्ने र सरकारी जग्गा सरकारकै नाममा ल्याउने हुटहुटी देखाउनु भयो, त्यही हुटहुटीका कारण मन्त्रिपरिषदले सवै जग्गा रोक्का गरी सरकारकै नाममा फिर्ता ल्याएको हो,’ एक मन्त्रीले जनताटाइम्ससँग भने । उनका अनुसार त्यस दिनको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले कुनै इफ बट नहुने र जोसुकै भएपनि नछाडने भन्दै निर्णय सुनाउनु भएको थियो ।

त्रिताल छानबिन समितिले गत मंसिर २६ गते प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । ‘सरकारी ललिता निवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्नेगरी मन्त्रिपरिषद् र मालपोत कार्यालयबाट विगतमा भएका निर्णय खारेज तथा संलग्न कर्मचारी तथा भूमाफियामाथि कारबाही गर्नुपर्छ,’ आयोगको प्रतिवेदनको निश्कर्षमा भनिएको थियो । प्रधानमन्त्री ओलीले सोही निश्कर्षका आधारमा प्रतिवेदन अध्ययन गर्नुभएको थियो ।

व्यक्तिका नाममा गराइएको ललितानिवासको जग्गा फिर्ता गर्न प्रधानमन्त्री ओली र गृहसचिव प्रेमकुमार राईको पहलमा त्रिताल नेतृत्वमा छानबिन समिति गठन भएको थियो । सरकारी सम्पत्ति हिनामिना हुन नदिन ओलीले देखाएको यो तत्परता निकै साहसिक रहेको त्रितालको भनाइ छ । यही निर्णयका आधारमा अख्तियार र ब्युरोले ललितानिवासले चर्चेको जग्गा हिनामिनामा संलग्नमाथि अनुसन्धान गरिरहेका छन ।

नेता, व्यापारी, भूमाफियालगायतका नाममा गइसकेको उक्त जग्गा सरकारले रोक्का गरिसकेको छ । २०२१ सालमा पञ्चायती सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको १ सय १४ रोपनी बहुदल आउनेबित्तिकै किन र कसरी व्यक्तिका नाममा बनाइयो भन्ने विषय अनुसन्धानकै क्रममा छ । अनुसन्धान प्रतिवेदन आएपछि मात्रै दोषीमाथि सरकारले केकस्तो कारबाही गर्छ भन्ने टुंगो लाग्ला ।

तर राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रमुखको सरकारी निवास रहेको ललितानिवास परिसरकै जग्गा तत्कालीन भोगाधिकारी, नेता, भूमाफिया र मालपोतका कर्मचारी मिलेर बेचबिखन गर्दा पनि २८ वर्षको अवधिमा बनेका २४ वटा प्रधानमन्त्रीले फिर्ता गर्न कुनै कदम चालेनन । २०४६ सालको राजनीतिक आन्दोलनबाट बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि २५औं प्रधानमन्त्री ओलीले व्यक्तिका नाममा पुगेको सो जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि यो विषय निकै पेचिलो बनेको छ। २०७२ सालमा ओली नै प्रधानमन्त्री भएका बेला भने यो प्रकरण छानबिनको दायरामा आएन ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रमुखको सरकारी निवास रहेको ललितानिवास परिसरकै जग्गा तत्कालीन भोगाधिकारी, नेता, भूमाफिया र मालपोतका कर्मचारी मिलेर बेचबिखन गर्दा पनि २८ वर्षको अवधिमा बनेका २४ वटा प्रधानमन्त्रीले फिर्ता गर्न कुनै कदम चालेनन । अहिले ओली सरकारले व्यक्तिका नाममा पुगेको सो जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि यो विषय निकै पेचिलो बनेको छ ।

२०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्था अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएपछि राजकाज मुद्दा लगाइएका नेपाली कांग्रेसका नेता सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेर भारत निर्वा्सित भए । निर्वासनसँगै सुवर्णशमशेरको स्वामित्वमा भएको १४ रोपनी ११ आना जग्गा सरकारले ०२१ सालमा जफत गर्यो। सुवर्णशमशेरका अन्य हकदारका नामको करिब २ सय ८४ रोपनी मुआब्जा दिएर तत्कालीन सरकारले अधिग्रहण गरेको अभिलेख छ । जफत गरिएको सो जग्गा २०४९ सालमा फिर्ता गर्ने क्रममा मुआब्जा लिइसकेको जग्गा पनि तत्कालीन भोगाधिकारीले मन्त्रिपरिषद्का सदस्यहरुलाई प्रभावमा पारेर आफ्नो नाममा बनाए ।

बहुदलीय व्यवस्था पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद्ले सुवर्णशमशेरको जफत भएको जग्गामात्रै तत्कालीन भोगाधिकारीलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर २०४७ सालमा भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर २०४९ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले जफत भएकोसहित १ सय १४ रोपनी जग्गा तत्कालीन भोगाधिकारीलाई फिर्ता गर्यो। यसमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीको बदमासी प्रमुख कारण रहेको त्रिताल प्रतिवेदनमा उल्लेख छ ।

व्यक्तिका नाममा गराइएको सरकारी जग्गा फिर्ता ल्याउन मनमोहन अधिकारी, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्दबहादुर चन्द, गिरिजाप्रसाद, कृष्णप्रसादको नेतृत्वमा पटकपटक बनेका सरकारले कुनै कदम चालेन । २०६२/०६३ को राजनीतिक आन्दोलनपछि गठन भएका सरकारले समेत गलत निर्णय सच्याउने प्रयास गरेनन्।

एकातिर माओवादी सशस्त्र द्वन्द्व अर्कातिर त्यही मौकामा माफियाले जग्गा हडप्न सुवर्णशमशेरका छोरा (हकवाला) सँग मिलाएको सेटिङ २०६१ सालमा स्पष्ट भयो। सरकारको नेतृत्व बदलिने क्रमसँगै २०६१ सालमा देउवा फेरि प्रधानमन्त्री बने । त्यही बेला ललितानिवासको छुटपुट जग्गा पनि मिलाएर सुवर्णशमशेरका हकदार रुक्मशमशेरलगायतले लगे। उनीहरूले सो जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदीलगायत व्यापारी तथा भूमाफियालाई बिक्री गरे । यसरी लिएको जग्गा सुवर्णशमशेरका हकदारले सत्ता र शक्तिसँग नजिक भएको संगठित गिरोहलाई बिक्री गरे ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्यसँगै गठन भएका सरकारले पनि हडपिएको सरकारी जग्गा फिर्ता गर्न चासो देखाएनन्। उल्टै २०६६ चैत र २०६९ असोजमा प्रधानमन्त्री बनेका माधवकुमार नेपाल र बाबुुराम भट्टराईले भूमाफिया र व्यापारीकै पक्षमा निर्णय गरे। नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्बाट गलत र अनुचित निर्णय गराउन मतियार बन्नेमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात, निर्वाचन आयोगका वर्तमान आयुक्त सुधीरकुमार शाह, पूर्वमन्त्री छविराज पन्तलगायतको प्रत्यक्ष संलग्नता देखिएको छ।

कतिपयले आफैं सदस्य भएको मन्त्रिपरिषद्बाट भएका निर्णयमा अनभिज्ञतासमेत जनाएका छन्। अहिले सरकारले छानबिन थालेपछि ललितानिवासको जग्गा हिनामिनामा मुछिएका केही भूमाफिया र मालपोत कार्यालयका केही कर्मचारी फरार भइसकेका छन । तर अनुसन्धान कुनै पनि हालतमा प्रभावित नहुने अख्तियार र ब्युरोका अधिकारी बताउँछन । अहिलेबालुवाटार जग्गा प्रकरण तीन निकायबाट छानविन भइरहेको छ ।