जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १९:०४

हस्पिटल चेन बनाउने अभियानमा रहेका विवादास्पद व्यवसायीलाई नै स्वास्थ्य मन्त्रालयको चाबी


काठमाडौं, साउन १०

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डल विस्तारमा आज स्वास्थ्य राज्यमन्त्रीको जिम्मा व्यवसायी उमेश श्रेष्ठलाई दिइएको छ । श्रेष्ठ उहाँ नै हो यसअघि हस्पिटल चेन बनाउने अभियानमा विवादास्पद रहनुभएको थियो । श्रेष्ठलाई देउवा सरकारमा सहभागी गराउनुको उद्धेश्य समेत अर्कै भएको सत्ता पक्षका नेताहरुले बताएका छन् ।

सरकारमा विभिन्न दलका नेता हुँदाहुँदै यसरी बाहिरी मान्छेलाई स्वास्थ्यको चाबी दिनु कत्तिको जायज हो भनेर पनि प्रश्न गरिरहेका छन् । त्यस्तै शिक्षा, बैंकलगायतका क्षेत्रसँगै कोरोना कालपछि स्वास्थ्य क्षेत्रमा समेत व्यापार सुरु गर्नुभएको उहाँले आफ्नो लगानीको लाभ ‘सुनिश्चित’ गर्न स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएको जानकारहरु बताउँछन्।

निजी अस्पताल सञ्चालनको अनुमतिदेखि नियमनसम्म मन्त्रालयले गर्ने भएकाले उनले स्वास्थ्य क्षेत्र रोजेको बुझिएको छ। केही समयदेखि उहाँ अस्पतालहरूको चेन बनाउने भन्दै हिँडिरहनुभएको थियो भने ललितपुरको एकान्तकुनामा उच्च आय भएको वर्गलाई लक्षित गरेर हेलोइस नामक बुटीक अस्पताल खोल्ने तयारीमा हुनुहुन्छ ।

यता जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल उहाँकै नेतृत्वमा छ, जसले कोरोनाको समयमा विरामीसँग निःशुल्क भन्दै रकम असुलेको थियो । जनमैत्री अस्पतालले निःशूल्क भन्दै संक्रमितसँग असुली गरेको विषयमा यसअघि जनताटाइम्स डटकमले समाचारसमेत तयार पारेको थियो । राज्यमन्त्री श्रेष्ठले महेन्द्र नारायण निधी अस्पताल ट्रष्टको पनि अध्यक्षता गरिरहनुभएको छ ।