जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १५:४३

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन



दाङ, साउन ११ । प्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको रु दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लािग अक्सिजन आवश्यकपर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यकपर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले जानकारी दिनुभयो ।

यसअघि दाङमा दाङ अक्सिजन उद्योग प्राली भिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गदै आएको छ । अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएएको जानकारी दिनुभयो ।

तेस्रो लहरको सङ्क्रमणको उपचारका लागि पूर्व तयारीका लागि २० शय्याको सघन उपचार कक्ष, ५० श्ययाको हाई डिपेन्डेन्सी युनिट९एचडीयू० र ३० शय्याको आइसोलेशन गरेर १ सय शय्या कोरोना सङ्क्रमितका लागि व्यवस्थापन गरिएको डा भण्डारीले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक डा प्रज्ञासिंह बस्नेतले बालबालिकालाई लक्षित गरेर सघन उपचार केन्द्रका शय्या थप्ने काम जारी रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा ट्रान्समिटर जडान र फिडरलाइन जोड्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई आग्रह गर्नुभयो । प्रजिअ कुरुम्बाङले प्रतिष्ठानको विकास र विस्तारमा आफ्नो पूर्णरुपमा सहयोग रहने बताउनुभयो ।