जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १७:४७

बढ्दै संक्रमण, आज झण्डै ४ हजारमा कोरोना, ७८२ आइसियु र भेन्टिलेटरमा


काठमाडौं, साउन १२

नेपालमा आज झण्डै ४ हजारको हाराहारीमा कोरोना संक्रमण थपिएको छ । कोरोना परीक्षण बढाइएपछि संक्रमितको संख्यासमेत बढेको हो । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनालाई संक्रमण पुष्टि भएको छ भने १७ सय ७८ जना निको भएका छन् । सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर र ४ हजार ८६३ एन्टीजेन गरि १७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको छ । हिजो १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण हुँदा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको थियो । यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७७४ जना छन् ।

काठमाडौंमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जनालाई पोजेटिभ देखियो । अहिले सक्रिय संक्रमित २८ हजार ८३६ जना छन् जसमध्ये अहिले ६११ जना आइसियु र १७१ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म नेपालमा ७ लाख ४२ हजार ८१७ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् भने ९७ सय ५८ जनाको मृत्यु भएको छ ।