जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार ११:३०

भाइरल ज्वरोको बिरामी बढे, देखिए यस्ता लक्षण


महोत्तरी, साउन १३

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको हो । उहाँले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । केही दिनदेखि तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको डा. साहले बताउनुभयो ।

उहाँले मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताउनुभयो । यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन डा. साहले सबैलाई आग्रह गर्नुभएको छ ।