जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १७:३०

कोरोना संक्रमण निरन्तर लाग्यो उकालो, थपिए ३८४० संक्रमित, ३३ को मृत्यु


काठमाडौं, साउन १३ । नेपालमा कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । आज ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमणको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ३८४० संक्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार पीसीआर परीक्षणमा २६३४ जना र एन्टिजेन १२०६ परीक्षणमा जनामा संक्रमण देखिएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ८८हजार ३०७ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट गरिएको परीक्षणमा ५८ हजार ३५० कोरोना पुष्टि भएको छ । २४ घण्टामा १० हजार ८८६ पीसीआर परीक्षण गरिएको छ भने एन्टिजेन परीक्षणको संख्या ४ हजार ९२२ रहेको छ । प्रवक्ता पौडेलका अनुसार २४ घण्टामा १९९३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७४ छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ छ । २४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७७१ पुगेको छ । आज उपत्यकाका तीन जिल्लामा ८५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २०६ जना नयाँ संक्रमित फेला परेको हो ।

गएको २४ घण्टामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने दर २४.२ प्रतिशत रहो । प्रवक्ता पौडेलका अनुसार सबैभन्दा धेरै संक्रमण दर गण्डकी प्रदेशमा देखिएको छ । गण्डकी प्रदेशको पछिल्ला दिनमा गरिएको परीक्षणमा संक्रमण दर ६२ प्रतिशत देखिएको छ । यो भनेको हरेक ३ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिनु हो । त्यसपछि धेरै संक्रमणदर प्रदेश १ मा छ । प्रदेश १ मा कुल परीक्षण गरिएका मध्ये २७.५ प्रतिशतमा कोरोना देखिएको छ ।

गत साताको तुलनामा देशमा सक्रिय संक्रमितको संख्या बढेको छ । त्यस्तै हाल होम आइसोलेसनमा २६ हजार ६५२ जना बसिरहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ७९२ जना छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ६११ जना आइसीयूमा र १६८ भेन्टिलेटरमा उपचाररत रहेका छन् ।