जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १२:२६

पुनः संक्रमित बढ्दो : प्याक हुँदै आइसीयू र भेन्टिलेटर


काठमाडौं, साउन १४ । नेपालमा कोरोना संक्रमणदर पुनः फैलिँदो अवस्थामा गएको छ । पटक–पटक गरिएको लकडाउनका कारण केही मथ्थर भएपनि पछिल्लो समय अव्यवस्थाका कारण कोरोना संक्रमणको ग्राप उकालो लागेको हो । पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेपछि पुनः पहिलेकै अस्पतालमा बेड नपाउने अवस्था फेरी दोहोरिने देखिन्छ । हिजो मात्रै नेपालमा ३ हजार ८४० जना संक्रमित भेटिँदा ७७९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै मंगलबार मात्रै देशभर भेटिएका ३ हजार ८९९ जना कुल संक्रमितमध्ये ६११ आइसीयू र १७१ भेन्टिलेटरमा गरी ७८२ जना संक्रमित सिकिस्त अवस्थाका थिए। हाल नेपालमा कोरोना भाइरसले रुप परिवर्तन गर्दै कोरोना, डेल्टा हुँदै हाल कप्पा भाइरस भएको पुष्टि भएको छ । उक्त भाइरसले विरामीलाई चाँडो सिकिस्त बनाउने र कडा खालको भाइरस रहेको बताइएको छ । उसो त नेपालमा केही दिनयता सिकिस्त खालका बिरामीको संख्यासमेत बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको पुष्टि गर्छ। आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या स्थिर देखिन्छ। यसरी हेर्दा अब काठमाडौं उपत्यका झन जोखिममा परेको छ । उपत्यकामा रहेका अस्पतालको शय्याहरु भरिदै जानु तेस्रो लहरको संकेत भएको विज्ञहरुले बताउन थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनका अनुसार लकडाउन खुलेपछि मानिसको चहलपहल र भीडभाड बढ्नु नै अहिलेको जोखिम रहेको बताउनुहुन्छ ।

सरुवा रोग अस्पतालमा कोभिडका लागि छुट्याइएको २४ आइसीयू, २२ वटा भेन्टिलेटर, कोभिड वार्ड ४०, स्पेशल क्याबिन १० शय्यामा विरामीहरु भरिभराउ रहेका छन् । त्यस्तै उपत्यकाका विभिन्न अस्पतालमा हाल आइसियु बेड, भेन्टिलेटर भरिँदै गएको अस्पताले जनाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा कोरोनाको उपचार हुने १२ वटा सरकारी अस्पतालमा १७१ आइसीयू र ६८ भेन्टिलेटरमा गरी २३९ जना संक्रमित उपचाररत छन् ।