जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १४:१४

कांग्रेस कार्यकर्तालाई मात्रै खोप लगाउने मेयर पराजुलीबिरुद्ध प्रदर्शन


विराटनगर, साउन १४ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा आज प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै कडा आक्रोश पोखेका छन । बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर पराजुली स्थानीयबाट लखेटिनु भएको थियो । विराटनगर–५ मा आफ्ना समर्थक र कांग्रेस कार्याकर्तालाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले मेयर पराजुलीलाई लखेटेका हुन । मेयर पराजुली बुधबार राति करिब ९ बजे खोपसहित विराटनगर–५ निवासी कांग्रेस बुथ समितिका सभापति विमलराज भण्डारीको घरमा पुगेर खोप लगाउन थाल्नुभएको थियो ।

खोपको लागि कांग्रेसका पनि आफूनिकट कार्यकर्तालाई मात्र खबर गरिएको थियो । सरकारले तोकेको मापदण्ड र कानून अनुसार घरमै लगेर खोप लगाउन पाइदैन । तर मेयर पराजुलीले केन्द्रमा आफ्नो सरकार आएको भन्दै घरमै खोप लग्नुभएको हो । गुपचुप रुपमा निकटलाई मात्र खोप दिएको सूचनापछि सो क्षेत्रको ठूलो भिड जम्मा भएको थियो। आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गर्नुका साथे मेयर पराजुलीलाई लखेटेका थिए ।

स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भाग्नुभएको थियो । मेयर पराजुलीको सो हर्कतको बिरोधमा आज भएको प्रदर्शनीमा ‘हाम्रो खोप खै ? भन्दै प्लेकार्ड प्रदर्शन गरिएको थियो भने ‘हाम्रो खोप खै ? मेयरले हडप्यो’ भन्ने नारा लागेको थियो ।