जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार ०८:०२

चीन पदक तालिकामा शीर्षस्थानमा फर्कियो



एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को छैटौ दिनको खेल सकिदा पदक तालिकाको शीर्षस्थानमा फर्किएको छ ।

शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहेका थिए । चीनले बिहीबार ३ स्वर्ण जित्दै शीर्षस्थानमा पूनरागमन गरेका हुन् । समान १५ स्वर्ण नै जितेपनि जापान अन्य पदकमा पछि दोस्रोमा झरेको छ । चीनले बिहीबारसम्म १५ स्वर्ण, ७ रजत र ९ कास्यगरी कुल ३१ पदक जितेको छ ।

जापानले १५ स्वर्ण, ४ रजत र ६ कास्यसहित २५ पदक जितेको छ । १४ स्वर्ण, १४ रजत र १० कास्यगरी कुल ३८ पदक जितेको अमेरिका तेस्रो स्थानमा यथावत रहेको छ । रसियन खेलाडीको टोली (आरओसी)८ स्वर्ण, ११ रजत र १९ कास्यसहित २८ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ ।

बुधबारसम्म ३ स्वर्ण जितेको अष्ट्रेलियाले बिहीबार थप ५ स्वर्ण जित्दै पाँचौ स्थानलाई थप पकड बनाएको छ । अष्ट्रेलियाले ८ स्वर्ण, २ रजत र १० कास्यगरी कुल २० पदक हात पारेको छ । इंग्ल्यान्ड ५ स्वर्ण, ७ रजत र ६ कास्यगरी कुल १८ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ४ स्वर्ण ३ रजत र ५ कास्यगरी कुल १२ पदक हात पार्दै सातौ स्थानमा रहेको छ ।

फ्रान्स, जर्मनी र इटाली शीर्ष १० मा रहेका छन् । ३ स्वर्ण, ५ रजत र ३ कास्यगरी कुल ११ पदक जित्दै फ्रान्सले एक स्थान सुधार गर्दा जर्मनी एक स्थान तल झरेको छ । जर्मनीले ३ स्वर्ण, ३ रजत र ७ कास्य गरी कुल १३ पदक जितेको छ ।

इटाली २ स्वर्ण, ७ रजत र १० कास्यगरी कुल १९ पदक जित्दै शीर्या १० मा उक्लिएको छ । नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभोले समान २ स्वर्ण जितेका छन् ।

ब्राजिल, स्वीट्जरल्यान्ड, रोमानिया, चाइनिज ताइपेइ, चेक रिपब्लिक, न्युजिल्यान्ड, जर्जिया, सर्विया, अष्ट्रिया, हङकङ, ट्युनिसिया, इस्टोनिया, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, लात्भिया, नर्वे, फिलिपिन्स, स्लोभेनिया र थाइल्यान्डले समान १ स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ३४ राष्ट्रले स्वर्ण जित्दा ६६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।