काठमाडौं, १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार देशका स्थानीय सरकारलाई खोप लगाउन आउनेहरूलाई पैसा दिन भनेका छन्। अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिइरहेको छ। संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये ९० प्रतिशत बढी खोप नलगाएकाहरू छन्।
सित्तैमा खोप दिँदा पनि अमेरिकीहरूले खोप नलगाएपछि राष्ट्रपति बाइडेनले प्रोत्साहनस्वरूप खोप लगाउनेलाई पैसा दिन भनेका हुन्। कतिपय राज्यले यसअघि नै खोप लगाउनेलाई विभिन्न पुरस्कार योजना ल्याएका थिए।प्रशस्त खोपको व्यवस्था भए पनि अमेरिकाको खोप कार्यक्रम अरू विकासशील मुलुकमा जस्तै सुस्त छ। समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म १६ करोड ३८ लाख मानिसहरूले मात्र खोप लगाएका छन्। अमेरिकाको जनसंख्या झन्डै ३३ करोड छ।
राष्ट्रपति बाइडेनले खोप लगाउनेरनलगाउने कुरा व्यक्तिगत स्वतन्त्रता भए पनि खोप लगाउनु आफन्त र देशका निम्ति जिम्मेवारी भएको बताएका छन्।‘अहिले धेरै मानिसहरू मरिरहेका छन् वा आफ्ना प्रियजन मरेको हेरिरहेका छन्,’ ह्वाइट हाउसमा संवाददातासँग बाइडेनले भने,‘स्वतन्त्रतासँगै जिम्मेवारी पनि आउँछ। त्यही भएर जिम्मेवार निर्णय गर्नुस्। आफ्ना लागि, प्रियजनका लागि र देशका लागि खोप लगाउनुस्।’
राष्ट्रपति बाइडेनले संघीय कर्मचारीहरूका लागि पनि खोपसम्बन्धी कडा नियम लागू गरेका छन्। अब अमेरिकाका संघीय कर्मचारीले कि आफूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ नत्र हप्तामै पटक/पटक कोरोना परीक्षण गर्नु पर्नेछ। खोप नलगाएका कर्मचारीलाई विदेश यात्रामा पनि रोक लगाइने छ।
अमेरिकामा झन्डै २२ लाख संघीय कर्मचारी छन्। कर्मचारीहरूले नै खोप लगाउन आनाकानी गरेपछि राष्ट्रपति बाइडेनले यस्तो नियम ल्याएका हुन्। अमेरिकामा पछिल्लो समय दैनिक ८० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्। बिहीबारमात्रै त्यहाँ ९२ हजार मानिसमा संक्रमण पुष्टि भएको थियो भने झन्डै ४ सयले ज्यान गुमाएका थिए। अमेरिका कोरोनाबाट सबैभन्दा धेरै मानवीय क्षति हुने मुलुक हो। अहिलेसम्म ६ लाख २८ हजार अमेरिकीको कोरोनाबाट मृत्यु भइसकेको छ।













प्रतिक्रिया दिनुहोस्