जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार २०:३३

जुडो टोली भोलि स्विट्जरल्यान्ड जाँदै


काठमाडौं, साउन १५ । आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली भोलि स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्ने भएका छन् । प्रशिक्षक राजीव प्रधान, तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुनेछ ।

टोलीको हवाइ टिकट/खान/बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व्यहोर्ने नेपाल जुडो संघले जनाएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

निमित्त सदस्य–सचिव कुँवरले नेपाली टोलीलाई स्विट्जरल्यान्डमा सहजीकरणका लागि त्यहाँको एनआरएनसंग सम्पर्क गरिदिने प्रतिबद्धता जनाउदै तालिमबाट हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्रचार्यले तालिममा नेपालले लगातार तेश्रोपटक सहभागिता जनाउन लागेको बताउदै ख्याती प्राप्त जुडो प्रशिक्षकले सहभागीलाई तालिम दिने जानकारी गराउनुभयो । दुवै खेलाडीलाई यु–१८ उमेरसमूह अन्तर्गत राजविराजमा भएको लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति राष्ट्रव्यापी जुडो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले बताउनुभयो ।