जनता टाइम्स

१६ श्रावण २०७८, शनिबार १६:०६

चीनमा पुन : कोरोना भाइरस, नान्जिङ शहरमा वुहानपछिको सबैभन्दा खराब स्थिति


काठमाडौं, साउन १६ । चीनको नान्जिङ सहरमा फेला परेपछि कोरोनाभाइरस प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले अहिलेको अवस्थालाई ‘वुहानपछिको सबैभन्दा व्यापक महामारी’ को सङ्ज्ञा दिएका छन्।

जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोनाभाइरस फेला परेपछि झन्डै २०० जना सङ्क्रमित भइसकेका छन्। एउटा स्रोतलाई उद्धृत गर्दै चीनको ग्लोबल टाइम्सले आगामी अगस्ट ११ सम्म नान्जिङबाट हुने सबै उडान स्थगित गरिने जनाएको छ। सरकारी निकायबाट चुक भएको भन्दै आलोचना भएको बेला अधिकारीहरूले सहरभरि परीक्षण सुरु गरेका छन्। सहरका ९३ लाख बासिन्दा र आगन्तुकहरूको परीक्षण गरिने समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा मानिसहरू परीक्षणका लागि पङ्क्तिबद्ध भएको देखिन्छ। सरकारी निकायले मानिसहरूलाई परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेको विवरणहरू प्राप्त भएका छन्।

कसरी फैलियो भाइरस ?

अधिकारीहरूका अनुसार कोरोनाभाइरसको अतिसङ्क्रामक डेल्टा भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो। एउटा व्यस्त विमानस्थलमा फेला परेको हुँदा उक्त भाइरस धेरैतिर फैलिसकेको उनीहरूको भनाइ छ। नान्जिङका एक स्वास्थ्य अधिकारीले त्यहाँ फेला परेका सङ्क्रमितहरूको सम्बन्ध रुसबाट आएको एउटा विमान सफा गर्न गएका कर्मचारीसँग भएको बताएका छन्।

उक्त विमान जुलाई १० मा रुसबाट आएको थियो। सिन्ह्वाका अनुसार ती कर्मचारीले सरसफाइसम्बन्धी कडा नियम पालना नगरेको सिन्ह्वाले जनाएको छ। विमानस्थलको व्यवस्थापनलाई नसिहत दिइएको छ। कम्युनिस्ट पार्टीको एउटा अनुशासन निकायले विमानस्थलमा अनुगमन नभएको तथा अव्यावसायिक व्यवस्थापन भएको भन्दै कमजोरीहरू औँल्याएको छ।

कहाँ–कहाँ भेटिए सङ्क्रमित ?

परीक्षणले उक्त भाइरस चङ्दू र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ। तर उक्त प्रकोप अहिले पनि प्रारम्भिक चरणमा भएको र नियन्त्रण गर्न सकिने विज्ञहरूले ग्लोबल टाइम्सलाई बताएका छन्। नान्जिङका स्थानीय अधिकारीका अनुसार सङ्क्रमितमध्ये सातजना गम्भीर अवस्थामा छन्। सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि केहीले सामाजिक सञ्जालमा चिनियाँ खोपहरू कोरोनाभाइरसको डेल्टा भेरिअन्टविरुद्ध प्रभावकारी छ कि छैन भनेर प्रश्न गरेका छन्।

सङ्क्रमण भएका व्यक्तिले खोप लिएका थिए कि थिएनन् त्यो स्पष्ट छैन। दक्षिणपूर्व एशियाका केही देशले केही समयअघि आफूहरूले अब चिनियाँ खोपको साटो अरू खोप प्रयोग गर्ने घोषणा गरेका थिए। चीनले आफ्ना सीमा बन्द गरेर तथा यदि स्थानीय तहमा प्रकोप देखिए तत्काल नियन्त्रणका उपाय अवलम्बन गरेर कोरोनाभाइरस महामारीलाई विस्तार हुन दिएको छैन । बीबीसी